ओली प्रचण्डबीच साढे २ घन्टा बैठक, मन्त्री फेर्ने विषयमा यस्तो भयो कुराकानी

रामेछाप खबर संवाददाता

काठमाडौं, २२ असोज ।

सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा पार्टी एकताका बाँकी काम, सरकारले गर्ने संवैधानिक नियुक्ति तथा राजनीतिक नियुक्ति, मन्त्रिमण्डल हेरफेर लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

दुई अध्यक्षबीच करिब साढे २ घन्टा छलफल भएको थियो ।

दुईजना अध्यक्षबीच आज भएको छलफलमा खाली रहेका मन्त्रालयमा तत्कालै मन्त्री नियुक्त गर्ने र बाँकी काम तिहारपछि गर्ने सहमति भएको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीको सोच र शैलीका कारण जटिल अवस्थामा पुग्यौंः गगन थापा

नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीको सोच र शैलीका कारण कोरोना महामारी नेपालमा गम्भीर अवस्थामा पुगेको तर्क गरेका छन् ।

नेता थापाले विहीबार सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘एकातर्फ काठमाडौँ बाहिर परीक्षणको संख्या घट्दै गएको छ तर चाडबाडको सम्मुखमा देशव्यापी आवागमन बढिरहेको छ । अर्कोतर्फ काठमाडौँमा कोभिड संक्रमितलाई जटिलता हुँदा न त आइसोलेसनमा राखेर उपचार गर्ने बेड छ न त सघन उपचारका लागि कहीँ बेड उपलब्ध नै छ । केही समस्या भइहाले के गर्ने, सबैमा अलमल छ ।’

उनले देश टार्न सकिने अवस्थाबाट चिर्नै नसक्ने जस्तो अवस्थामा पुगेको निष्कर्ष निकालेका छन् । ‘यो अवस्था आउन नदिन पूर्व तयारी गरौँ, यसरी गर्न सकिन्छ भनेर प्रधानमन्त्रीज्यूलाई पटक पटक नभनेको होइन तर प्रमलाई यस्तो कुरा सोच्ने फुर्सद भएन,’ उनको गुनासो छ, ‘समय, स्रोत, सहयोग सबै थियो तर तपाईँको सोच र शैलीको कारण जटिल अवस्थामा पुगेका छौँ । टार्न सकिने अवस्थाबाट चिर्नै नसक्ने जस्तो अवस्थामा पुगेका छौँ ।’

नेता थापाले यस्तो अवस्थामा पनि महामारी प्रधानमन्त्रीको प्राथमिकतामा नपरेको आरोप लगाएका छन् । ‘ योबेला पनि तपाईंको प्राथमिकतामा महामारी छैन । अहिले मन्त्रीमण्डल भागबन्डाबारे हाेइन, संकटबारे छलफल गर्नुस् ।’

उनले कोरोनाविरुद्धको अभियानमा सहकार्य गर्न तयार भएको स्पष्ट पारेका छन् । थापा भन्छन्, ‘बेहोस भएमात्र अस्पताल जाऊ भन्ने विज्ञ होइन,वास्तविक विज्ञ र अग्रपंक्तिमा खटिएकाका कुरा सुन्नुस्।काेभिड विरुद्धको लडाइँमा तपाईंलाई साथ दिन चाहान्छाैं तर केही त गर्नुस् प्रमज्यू !’