प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- डा.केसीसँग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी हो ?

रामेछाप खबर संवाददाता

काठमाडौं, २१ असोज ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अनसनरत डाक्टर गोविन्द केसीसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ। डा.केसीको स्वास्थस्थिति जटिल हुँदा समेत सरकारले वार्ता नगरी कात्रो पठाउने तयारी गरेको हो भन्दै प्रधानमन्त्री केपी शर्माओलीलाई काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न उठाएका हुन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै डा. केसीसँग सरकारले वार्ता नगरेको भन्दै आपत्ति जनाएका हुन् । विज्ञप्तिमा प्रवक्ता शर्माले प्रश्न गर्दै भनेका छन्, ‘डा.केसीसँग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी हो ?’

‘अनसनजस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ। खुल्ला ढंगले के यो सन्देश दिन चाहनु भएको हो कि- लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरित्रको हुनुमा फरक हुन्छ?,’ शर्माको प्रश्न छ।

‘प्रधानमन्त्रीज्यू । हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा.केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भूल किमार्थ नगरियोस्’ विज्ञप्तिमा भनिएको छ । सरकारले केसीका माग सम्बोधन गर्न हालसम्म वार्ता समितिसम्म गठन गरेको छैन । कुनै बेला नेकपाका अध्यक्ष प्रचण्डको बन्दुकको विद्रोहलाई कटु आलोचना गर्ने केसीको अनशन जस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गरेको काँग्रेसले आरोप लगाएको छ ।

पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।