काठमाडौं, २१ असोज ।
यातायात व्यवस्था विभागले अनलाईन माध्यमबाट घरै बसेर पनि सार्वजनिक यातायातको टिकट लिन सकिने बताएको छ ।
कोरोना संक्रमणको जोखिम लाई न्युनिकरण गर्नका लागि काउन्टरमै पुगेर टिकट लिनुपर्ने झन्झटिलो बाध्यताको अन्त्य गर्दै विद्युतीय माध्यमबाट बुक गर्न मिल्ने सफ्टवेयर बनाएको जनाएको छ ।
सफ्टवेयर निर्माणको काम सकिएको र असोजभित्रै त्यसलाई सार्वजनिक गर्ने तयारी भएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिएकाछन् । ‘सफ्टवेयर निर्माणको काम सकिएको छ । अब सबै यातायात कम्पनीलाई सफ्टवेयरसँग जोडेर टिकटमा डिजिटल प्रणाली सुरु गर्दै छौं,’ उनले भने ।
हाल सार्वजनिक यातायातको टिकटका लागि काउन्टरमै पुग्नुपर्ने अवस्था छ । दसैं–तिहारजस्तो चाडबाडका बेला यात्रुको चाप बढी हुने समयमा कृत्रिम टिकट अभाव गरी ठगी हुने गरेकोले अनलाइन टिकटिङ प्रणाली लागू भएपछि यात्रुले यस्ता समस्या भोग्नु नपर्ने हमालले दाबी गरेकाछन् ।
यसका लागि यातायात कम्पनीहरुले नै विभिन्न डिजिटल एपमा आबद्ध भएर अनलाइन टिकटको व्यवस्था गर्नुपर्नेछ । ती कम्पनीलाई सफ्टवेयरसँग जोडेर विभागले नियामकको रुपमा काम गर्नेछ । विभागले अनलाइन टिकटिङलाई व्यवस्थापन गर्न अनलाइन टिकट निर्देशिका पनि बनाएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।