कुर्सी भाँच्नेलाई कारबाही गर्ने कांग्रेस प्रवक्ताको संकेत

रामेछाप खबर संवाददाता

काठमाडौं, १९ असोज ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत रहेको प्रतिक्रिया दिएका छन् ।

सोमबार साँझ एक ट्वीट सन्देशमार्फत् शर्माले ती सांसदहरुलाई कारबाही हुनसक्ने संकेत गरेका छन् । ‘रोस्ट्रम भाँच्नेदेखि संसदीय पद्धतिनै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेकोे दलका सांसदलाई पार्टीको संस्कृति उल्लंघनको स्वायत्तता विल्कुलै दिइएको छैन,’ उनले भनेका छन् ।

संसदीय ब्यवस्था कम्युनिस्टका लागि बाध्यताको र कांग्रेसका लागि रोजाईको पद्धति रहेको जिकिर उनले ट्वीट सन्देशमा गरेका छन् । ‘परिमार्जित र सुसंस्कृत बनाउँदै अघि बढ्ने कर्तव्य पनि हाम्रै हो,’ उनले भनेका छन्, ‘अरुका गल्तीमा सच्याउँदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको ‘छिटपुट’ भनेर छोप्दैन, कठोरतापुर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं ।’

प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दलको बिरोधका बावजुद प्रदेशको नाम र स्थायी राजधानीको प्रस्तावमाथिको छलफल सुरु गरेपछि कांग्रेसका सांसदहरुले कुर्सी तोडफोड गरेका थिए ।

सोमबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश ५ सरकारले प्रदेश सभामा पेस गरेको नाम र स्थायी राजधानीको विषयमा विरोधकै बीच सभामुखले छलफलअघि बढाएपछि तोडफोडको घटना घटेको हो । तोडफोड र नाराबाजीकै बीच सभामुख पूर्णबहादुर घर्तीले छलफल अघि बढाएका थिए ।

बैठकमा कानुन तथा आन्तरिक मामिलामन्त्री कुलबहादुर केसीले प्रदेश राजधानी र नामको प्रस्ताव छलफलका लागि पेस गर्ने क्रममा कांग्रेस सांसदहरूले नाराबाजीसहित कुर्सी र टेबुल तोडफोड गरेका थिए । सो क्रममा मन्त्री केसीले बिरोध गर्ने सांसदहरुलाई बाहिर निकाल्न मर्यादा पालकलाई निर्देशन दिएका थिए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदहरु प्रदेश राजधानी दाङको भालुवाङमा राख्ने पक्षमा रहेका छन् भने नेपाली कांग्रेसलगायत केही दलका सांसदहरु त्यसको विरोधमा छन् । छलफलका क्रममा कांग्रेसलगायत दलका सांसदले प्रदेश सभा बैठकमा विरोध जारी राखेपछि बैठक मङ्गलबार २० गते दिउँसो १२ बजेसम्मका लागि स्थगित गरिएको छ ।

पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।