असोज १६ ललितपुर ।
कृषि विषयलाई आधार बनाएर निर्माण गरिएको लघुचलचित्र “किसान” कृषि पोस्ट डट कम अनलाइन न्युज पोर्टलको आधिकारिक युट्युब च्यानल एग्रो टिभी नेपालबाट सार्वजनिक गरिएको छ । आम गरिब तथा निम्न वर्गीय किसानहरू साहु र मालिकको ऋणले पीडित भइरहेको बेला प्राकृतिक विपद पनि सहन बाध्य हुन्छन् भन्ने कुरा चलचित्रमा देखाउन खोजिएको छ भने पढेलेखेका तथा शिक्षित युवा सहरमुखी मात्र नबनी आफ्नै गाउँ फर्की मिहिनेत गर्ने हो भने कृषि पेसा तथा व्यवसायबाट पनि मनग्गे आयअर्जन गर्न सक्छन् भन्ने कुरा चलचित्रले सन्देश दिन खोजेको छ । पशुपालन तथा दुग्ध व्यवसायको पकेट क्षेत्र मानिएको कोन्ज्योसोम गाउँपालिकाको संखुमा छायांकन गरिएको चलचित्रमा लामो समयदेखि शिक्षण तथा पत्रकारिता पेसामा आबद्ध नवराज चौलागाईं क्षितिज र मोडल अर्जुन खनाललाई मुख्य तथा गणेश कंडेल ,नन्दमाई चौलागाईं , माधव चौलागाईं , श्यामकृश्न चौलागाईं , सुनिता चौलागाईं र स्वीकृति चौलागाईंलाई अन्य भूमिकामा देख्न सकिन्छ । अर्जुन खनालले तयार पारेको कथा तथा पटकथालाई गणेश कंडेलले छायांकन/निर्देशन र नवराज चौलागाईंले निर्माण गरेका हुन् । एउटै परिवारका चार पुस्ताले संगै अभिनय गरेको सम्भवत: यो नेपालकै पहिलो लघु चलचित्र हो ।
पूरा भिडियो हेर्नुस र कृपया यो भिडियो सक्दो shere गरिदिनुहोला।