काठमाडौं, १६ असोज ।
न्त्रिपरिषद् पुनर्गठन र सरकारले गरेको राजनीतिक नियुक्तिको विषयलाई लिएर नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रवार छलफल भएको छ ।
बालुवाटारमा बिहान भएको भेटमा प्रचण्डले सरकारले हिजो गरेका राजनीतिक नियुक्तिहरूप्रति असन्तुष्टि जनाएका थिए ।
मन्त्रिपरिषद् पुनर्गठनमा सहमति जुटिनसकेको अवस्थामा पार्टीसँग परामर्श नगरी प्रधानमन्त्रीले राजदूत नियुक्ति गरेको भन्दै नेकपामा विवाद उत्पन्न भएको छ । प्रचण्डले यसबारे असन्तुष्टि जनाएका छन् ।
गत भदौ २६ गते सम्म स्थायी कमिटी बैठक र त्यसपछि बसेको सचिवालय बैठकले सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठनको निर्णय गरेको थियो ।
यस्तै राजनीतिक नियुक्तिमा सरकारले पार्टीमा छलफल गर्ने निर्णय भएको थियो ।
पार्टीको निर्णय ओलीले उल्लंघन गरेको भन्दै नेताहरू असन्तुष्ट छन् । ओलीसँगको छलफलका लागि प्रचण्ड बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।