काठमाडौं, १५ असोज ।
प्रहरीको नक्कली लोक सेवा परीक्षा सञ्चालन गर्ने बाराका अजयकुमार रायलाई पक्राउ गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका-७ चौधरी टोलका २९ वर्षीय राय प्रहरी निरीक्षकको पोसाकमै पक्राउ परेका हुन् ।
उनको साथबाट नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र दुई थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, प्रश्न पत्र २६ थान र खरिदारको प्रवेश पत्र एक थान बरामद गरेको प्रहरीले जनाएको छ ।
बुधबार वीरगञ्ज-१६ मा रहेको देव पार्टी प्यालेसमा नक्कली लोक सेवाको परीक्षा सञ्चालन भइरहेका बेला उनलाई प्रहरीले पक्रेको हो । परीक्षा सञ्चालन गरेर यादवले विभिन्न व्यक्तिबाट तीन लाख ६१ हजार रुपैयाँ ठगी गरेको पाइएको छ ।
उनीसहित प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका-५ का हिरालाल महतो, वसन्त चौधरी, पर्सा वीरगञ्ज महानगरपालिका-१६ का रविकुमार चौरसिया, पकाहामैनपुर गाउँपालिका-५ का शिवनारायण चौरसिया र वीरगञ्ज-२७ रानीघाटका रामजी चौरसियालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार नक्कली लोक सेवाको परीक्षा सञ्चालन गरेर ठगी गर्ने योजना अजयकुमार रायले नै बनाए थिए । नौ महिनादेखि प्रहरी चौकी परवानीपुर, नगवालगायत क्षेत्रमा गएर आफू इन्स्पेक्टर भन्दै यादवले ठगी गर्दै आएको अनुसन्धानबाट खुलेको छ । यसअघि पनि राय सरकारी छाप किर्ते अभियोगमा जेल परिसकेका व्यक्ति हुन् ।