प्रशासनको निर्देशन अवज्ञा गर्दै राँगाको बली

रामेछाप खबर संवाददाता

बैतडी, ९ कात्तिक ।

बडादशैंको महानवमीका अवसरमा आइतबार बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरमा जात्रा सम्पन्न भएका छन् । पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा बलिसहित महानवमीका अवसरमा जात्रा सम्पन्न भएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

कोरोना भाइरसको महामारीकाबीच सामाजिक दूरी कायम गरी ८ वटा रांगाको बली गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । मेलामा भीडभाड नहोस भन्नका लागि शनिबारदेखि आइतबार दिउँसो ४ बजेसम्मका लागि पाटन बजार क्षेत्र सिल गरिएको थियो । बजार क्षेत्र सिल गरिएकाले मेलामा भीडभाड भने नभएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।

अरु वर्ष उदयदेव मन्दिरमा ठूलो जात्रा लाग्ने गरेको भएपनि यो वर्ष कोरोना कहरका कारण जात्रामा चहपहल नभएको बताइएको छ । भीडभाडमा कोरोना भाइरसको जोखिम हुनसक्ने भएकाले जिल्ला सुरक्षा समितिले विभिन्न मन्दिर तथा शक्तिपीठहरुमा जात्रा तथा मेला गर्न निषेध गरिएको थियो ।

भीडभाड बढी हुनसक्ने भएकाले मन्दिर तथा शक्तिपीठमा बलीमा रोक लगाइएको भएपनि शक्तिपीठ तथा मन्दिरमा बली दिएको पाइएको छ । स्थानीय प्रशासनको निर्देशन अवज्ञा गर्दै स्थानीयले आफ्नो धर्मसंस्कृति अनुसार बली दिएको बताइएको छ। बैतडीमा महाष्टमी, नवमी र दशमीका दिन धेरै बली हुने भएपनि यो वर्ष कोरोना महामारीका कारण बली कम भएको बताइएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।