ट्रम्पलाई भारतको हावा खुबै गन्हाउँछ

रामेछाप खबर संवाददाता

काठमाडौँ, ८ कात्तिक ।

यतिखेर अमेरिकाको संघारमै आएको राष्ट्रपति निर्वाचन केन्द्रित बहसमा संसारको चासो बढेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का उम्मेदवार डेमोक्रेटिक पार्टीका जो बाइडेनबीचको अन्तिम बहस सामाजिक सञ्जालमा त छाएकै छ, साथमा समाचारमा त्यसले उत्तिकै महत्त्व पाएको छ।

अन्तिम बहसमा ट्रम्पले वातावरण प्रदूषणका विषयमा बोले। यसअघि उनी यस्ता सन्दर्भमा खासै चासो दिँदैनथे। प्रदूषणका बारेमा बोल्दा उनले सबैभन्दा धेरै तारो बनाए हाम्रो दक्षिणी छिमेकी भारतलाई। त्यसो त उनी उत्तरी छिमेकी चीन र रूसमाथि पनि वातावरण बिगारेको आरोप लगाउन चुकेनन्।

शीर्ष पदका यी दुई आकांक्षीको बहस ६ करोड ३० लाख जनाले हेरेका थिए। बिहीबार भएको उक्त अन्तिम बहस त्यति संख्यामा मानिसहरूले हेरेको विश्वास छ। तथापि, अघिल्लाभन्दा कम संख्यामा अन्तिम बहस हेरिएको हो। गत सेप्टेम्बर २९ मा सम्पन्न बहस सात करोड ३१ लाखले हेरेका थिए।

बिहीबारको बहसमा ट्रम्पले भारत, चीन र रूसको हावाको गुणस्तर निकै खराब रहेको बताए। आफ्नो देशले सधैं हावाको गुणस्तरमा ध्यान दिँदै आएको उनको दाबी थियो।

केही वर्षअघिको रेकर्ड हेर्ने हो भने, २०१६ अक्टोबर १९ मा भएको हिलारी क्लिन्टन र ट्रम्पबीचको बहस सात करोड १५ लाख जनाले हेरेका थिए। यस पटक ट्रम्पले अन्तिम पे्रसिडेन्सियल डिबेटमा भारत, चीन र रूसमाथि आक्रोश पोखे। स्मरणीय त के छ भने, भारतीय सत्ता यो निर्वाचनमा ट्रम्पको पक्षमा देखिँदै आएको छ। चीनलाई बाइडेनको पक्षमा रहेको बताइए पनि त्यहाँको सरकारले केही बोलेको छैन। रूसले कसको पक्ष लिन्छ, यसै भन्न सकिँदैन। तथापि, वर्तमान राष्ट्रपति ट्रम्प रूसका घोर विरोधी देखिँदै आएका छन्।

बिहीबारको बहसमा ट्रम्पले भारत, चीन र रूसको हावाको गुणस्तर निकै खराब रहेको बताए। आफ्नो देशले सधैं हावाको गुणस्तरमा ध्यान दिँदै आएको उनको दाबी थियो।

उनले आफ्ना प्रतिद्वन्द्वी बाइडेनसँगको बहसमा भने, ‘‘चीनलाई हेर्नोस् त्यहाँ कति गन्हाउने हावा छ, रूस र भारतमा पनि त्यही अवस्था छ।’’ उनले जलवायुसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिनुको कारण खोल्दै थपे, ‘‘म पेरिस सम्झौताबाट खर्बौं डलर बचाउन बाहिरिएको थिएँ। हामीसँग निकै गलत व्यवहार पनि गरियो। पेरिस सम्झौताका कारण म लाखौं रोजगारी र हजारौं कम्पनीको बलिदान गर्दिनँ…अनुचित हो त्यो काम।’’

गत वर्ष अमेरिका पेरिस जलवायु सम्झौताबाट औपचारिक रूपमै बाहिरिएको थियो। यसको सूचना संयुक्त राष्ट्र संघलाई दिएको थियो।

जलवायु परिवर्तनको सन्दर्भमा पेरिस सम्झौता एउटा महत्त्वपूर्ण विश्व सम्झौता हो, जसलाई लागू गर्न अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले अहम् भूमिका निर्वाह गरेका थिए। यो सम्झौताको प्रमुख उद्देश्य विश्व तापमान २ डिग्री सेल्सियससम्म घटाउनु रहेको थियो।

(एजेन्सीहरूको सहयोगमा)

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।