आजदेखि २० रुपैयाँको नयाँ नोट चलनचल्चीमा

रामेछाप खबर संवाददाता

काठमाडौं, ६ कात्तिक ।

बिहीबारदेखि नेपाल राष्ट्र बैंकले २० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले सूचना सार्वजनिक गर्दै नयाँ नोट आजदेखि बजारमा सार्वजनिक हुने जानकारी दिएको हो ।

२० रुपैयाँको नयाँ नोट साबिककै आकार, रंगको हुनेछ । बार्हसिङ्गेको चित्र रहेको २० रुपैयाँको नयाँ बिहीबारबाट चलनचल्तीमा आउन लागेको हो ।

राष्ट्र बैंकका अनुसार नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालीन गभर्नर डाक्टर चिरन्जीवी नेपालको दस्तखत तथा तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा वि.सं. २०७६ लेखिएको हुनेछ ।

त्यसैगरी पृष्ठ भागमा नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा NEPAL RASTRA BANK लेखिएको हुनेछ भने मध्य भागमा बार्हसिङ्गे​को चित्र हुन्छ । नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा RUPEES TWENTY लेखिएको छ ।

राष्ट्र बैंकका अनुसार यो नयाँ नोटमा सिरिज नम्बर अंग्रेजीमा 2020 A.D. समेत लेखिएको छ । यसअघि पहिलेका नोटमा सिरिज नम्बर भए पनि साल समेटिएको थिएन ।