१८ वर्षीय युवकको पेटमा एउटा पेचकस, ३० वटा काँटी र कपडा सिलाउने सियो !

रामेछाप खबर संवाददाता

काठमाडौँ, ३ कार्तिक ।

भारतको उत्तर प्रदेशनिवासी एक १८ वर्षीय युवकको पेटमा फलामको काँटी, सिलाइ मेसिनको सियो र पेचकस जस्ता सामानहरू पाइएको छ । जब पेट दुख्न थाल्यो, तब उनलाई उनको परिवारले अस्पताल पुर्याएका थिए ।

डाक्टरहरूले ती युवकको पेटमा भएका सामानहरू जब एक्सरेमा देखे तब अचम्म माने ।

सोमवार ३ घण्टाको लामो अपरेसनपछि फलाम र स्टीलका थप सामानहरू ती युवकको पेटमा रहेको पत्ता लाग्यो । डाक्टरहरूले फलामको तिखो औजार, फलामकै ३० वटा काँटी, चार इन्च लामो फलामको रड, सिलाइ मेसिनका ४/५ वटा सियो र एउटा पेचकस निकाले ।

ती युवकका बाबुले डाक्टरलाई छोरा मानसिक बिरामी भएको बताए । उनले आफ्नो छोराले कहिले र कतिबेला यस्ता चीजहरू खायो आफूलाई थाहा नभएको डाक्टरहरूलाई बताए ।

सफल अपरेसनपछि डाक्टर राधारमण अवस्थीले भारतीय समाचार एजेन्सी आइएएएनएससँग भने, ‘बिरामी मानसिक रोगी थिए । उनले हाम्रो प्रश्नको उत्तर दिएनन् । तर अपरेसन सफल भएको छ । एक हप्ता जति हामीले अन्त कतै इन्फेक्सन भएको छ कि छैन भनेर हेर्छौं ।’

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।