६ करोड बराबरको खसी–बोका र च्याङ्ग्रा ल्याउने खाद्य संस्थानको तयारी

रामेछाप खबर संवाददाता

काठमाडौँ, २३ असोज ।

कोरोना भाइरसको संक्रमणको उच्चवृद्धिकै बाबजुत खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडले ६ करोड बराबरको खसी, बोका र च्याङ्ग्रा ल्याउने भएको छ ।

संस्थानले करिब तीन हजार खसी, बोका र च्याङ्ग्रा ल्याउने भएको हो । काठमाडौं उपत्यकालाई लक्षितगरी सो खसी, बोका र च्याङ्ग्रा ल्याउने प्रस्ताव संस्थानले गरेको छ ।

संस्थानले ढुवानी, खरिद लगायतको जिम्मा दिइसकेको र घटस्थापनाको आसपासमा खसी,बोका र च्याङ्ग्रा ल्याउने खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकृत शर्मिला सुवेदीले जानकारी दिइन् ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर उच्चदरमा वृद्धि भइरहेको छ ।

दशैंको रौनक कम भए पनि कम्पनीले गतवर्षझै सर्बसुलभ रुपमा खसी, बोका विक्रि वितरण गर्न लागेको हो ।

गतवर्ष पनि कम्पनीले तीन हजार बराबरीकै हाराहारीमा खसि बोका विक्रि वितरण गरेको थियो ।
‘गत वर्षको जतिको उत्साह छैन, तर पनि खसी विक्रि वितरण सहज होस् भन्ने हेतुले खरिद गर्न लागिएको छ,’ सुवेदीले भनिन् ।

कम्पनीले हरेक वर्षको दशैं लक्षितगरी खसी,बोका ल्याउने गरेको छ ।

वितरणमा चुनौति
कोरोना भाइरसको संक्रमणका कारण यसपटक कसरी खसी, बोका विक्रि वितरण गर्ने भन्ने चुनौति थपिएको छ ।

कोरोनाको उच्च जोखिम भएकाले भिडभाडा नगरी कसरी वितरण गर्ने भन्ने विषयमा छलफल भइरेहेको सुवेदीले बताइन् ।

संक्रमणलाई ध्यानमा राख्दै अनलाइन अर्डर गर्नेगरी व्यवस्था मिलाउने, दुरी कायम राखेर तिरण गर्ने भन्ने विषयमा छलफल भइरहेको उनको भनाई छ ।

‘अनलाइन वितरण प्रभावकारी हुन सक्ने भएता पनि उपभोक्ताले रोजेर स्वस्थ वा अस्वस्थ यकिन गर्न सम्बन्धित ठाउँमै जानुपर्ने हुन्छ त्यस्तो अवस्थामा भिड कम गर्न के गर्न सकिन्छ सो छलफल गरौं,’ सु्वेदीले भनिन् ।

संस्थानले अन्य ठाउँको तुलनामा प्रतिकेजी १० रुपैयाँ छुट दिने गरेको छ ।

गतवर्ष जतिको उत्साह छैन : चौपाय खरिद विक्रि सेवा संघ
कोरोना भाइरसको कारण गतवर्ष जतिको खसी बोका विक्रि वितरणमा उत्साह नभएको खसी बोका कम वित्रि हुने चौपाय खरिद विक्रि सेवा संघका अध्यक्ष भानुभक्त पराजुलीले बताए ।

उनका अनुसार यसपटक कंलकी खसी बजार केन्द्रबाट २५ हजार खसी बोका विक्रि वितरण हुने सक्ने अनुमान गरिएको छ ।

‘यसपटक उपत्यकाबाट बाहिर जानेहरुको संख्या कम हुने भएकाले उपत्यकामा मासुको खपत बढी हुने अनुमान छ ।’ पराजुलीले भने ।