बैंकहरूको बचत खातामा करिब ४० खर्ब पैसा, कसले कति पैसा जम्मा गरे ?

रामेछाप खबर संवाददाता

काठमाडौं, २३ असोज ।

चालु आर्थिक बर्षको साउनसम्म बैंक तथा वित्तिय संस्थामा भएको निक्षेप रू. ३९ खर्ब ३३ अर्ब ६६ करोड ४२ लाख रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो ।

राष्ट्र बैंकअनुसार साउनमा निक्षेप संकलन शुन्य दशमलव १ प्रतिशतले मात्र बढेको छ । बिशेषगरि कोरोना भाइरसको महामारीका कारण परेको अर्थतन्त्रमा परेको असरले निक्षेपमा पनि कमी आएको बताइएको छ ।

अहिले बैंकहरुले निक्षेप व्याजदर घटाएका छन्, त्यसको असरले निक्षेप संकलन सोचे अनुरुप नबढेको बताइएको छ । गत आवको सोही अवधीमा ३३ खर्ब ३१ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन भएको थियो । गत आवको अन्त्यसम्म भने ३९ खर्ब ३० अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन भएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार सबै भन्दा बढी व्यक्तिगत बचत खातामा रहेको छ । उक्त खातामा रु. २१ खर्ब ८८ अर्ब १७ करोड रुपैयाँ पैसा जम्मा भएको छ ।

नेपाली बैंकहरुको निक्षेपमा रु. १ खर्ब २ अर्ब ३८ करोड रुपैयाँ फरजिएन डिपोजीट रहेको छ । यस्तै, स्थानीय सरकारले रु. ४० अर्ब ७१ करोड ६९ लाख पैसा बैंकहरुमा राखेका छन् ।

यस्तै, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र बीमा कम्पनीहरु जस्ता संस्थाहरुले बैंकमा रु. ७ खर्ब १६ अर्ब ९६ करोड पैसा राखेका छन् । सरकारी कम्पनीहरुले भने ३ खर्ब २७ अर्ब ३७ करोड रुपैयाँ पैसा राखेको छन् । गैर सरकारी कम्पनीहरुले भने रु. २ खर्ब ७६ अर्ब २८ करोड रुपैयाँ बैंकमा जम्मा गरेका छन् ।

यस्तै, अन्तरबैंकिङ निक्षेप ९५ अर्ब ८९ करोड रुपैयाँ भन्दा बढी रहेको तथ्यांमा उल्लेख छ । गैर नाफा मुलुक संस्थाहरुले १ खर्ब २१ अर्ब ७९ करोड रुपैयाँ निक्षेप राखेका छन् । यस्तै, अन्य बिभिन्न माध्यमबाट ६४ अर्ब ७ करोड ७९ लाख रुपैयाँ जम्मा भएको छ ।