आईपीएल : पञ्जाबलाई ६९ रनले हराउँदै हैदरावादको शानदार जित

रामेछाप खबर संवाददाता

काठमाडौं, २३ असोज ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले शानदार जित दर्ता गरेको छ।

बिहीबार रातिको खेलमा किङ्स इलाभेन पञ्जाबलाई ६९ रनले पराजित गर्दै हैदरावादले शानदार जित दर्ता गरेको हो ।

दुबईस्थित अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य भेट्न नसक्दा पञ्जाब पराजित भएको हो ।

२०२ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो । पन्जाबका लागि निकोलस पुरनले ७७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

पञ्जाबका लागि निकोलसबाहेक अन्य ब्याट्सम्यान टिक्न सकेनन् । सिमरन सिंह र केएल राहुलले ११/११ रन जोडे भने अन्य ब्याट्सम्यान दोहोरो अंक बनाउन चुके।

हैदराबादका राशिद खानले ३ विकेट लिए । यस्तै खलिल अहमेद र टी नटराजनले २/२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । हैदराबादका लागि ओपनरद्वय जोनी बेयरस्टो र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले ।

बेयरस्टो ९७ रनको शानदार इनिङ्स खेल्दा वार्नर ५२ रनमा आउट भए । पहिलो विकेटका लागि बेयरस्टो र वार्नरले १ सय ६० रनको साझेदारी गरेका थिए ।

यस्तै अभिषेक शर्माले १२ रन जोड्दा केन विलियम्सन २० रनमा अविजित रहे ।

पन्जाबका रबि विश्नोइले २ विकेट लिए । आर्शदीप सिंहले २ तथा मोहमद शामीले १ विकेट लिए । जितसँगै हैदराबादले ६ खेलमा ६ अंक जोडेको छ । ६ खेलमा २ अंक जोडेको पन्जाब अंक तालिकाको अन्तिममा छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।