अष्ट्रेलियाको ‘पीआर’ भन्दा नेपालको ‘मस्यौरा’ प्यारो

रामेछाप खबर संवाददाता

चितवन, २२ असोज।

छोरा बुहारी अष्ट्रेलियामा छन, छोरी ज्वाइँ लण्डनमा । अअष्ट्रेलियाबाट छोरा बुहारीले उतै बस्नका लागि अनुरोध गरे । पीआर पाएर बस्ने सम्भावना थियो । तर विदेशको रहरभन्दा स्वदेशको मस्यौरा प्यारो छ चितवन भरतपुरकी अम्बिका धिताललाई ।

भरतपुर महानगरपालिका वडा नम्बर १० बस्ने ६० वर्षीया​अम्बिका केही वर्ष अघिसम्म गृहिणी हुनुहुन्थ्यो । परिवारका लागि खाना पकाउने, घरधन्दा गर्नेलगायत काममा उहाँको दैनिकी बित्ने गरेको थियो । गाउँघरतिर ‘मस्यौरी दिदी’को नामले परिचित अम्बिकाले करिब तीन वर्ष पहिले मस्यौरा बनाएर व्यवसाय सुरु गर्नुभएको थियो ।

अष्ट्रेलियामा रहेका छोरा बुहारीले पीआरका लागि आवेदन दिन उहाँलाई आग्रह गरेका थिए । आफूलाई पीआर लिएर उता बस्नुभन्दा सकुञ्जेल देशमै केही गरौँ भन्ने लागेर मस्यौरा बनाएर बिक्री गर्न थालेको उहाँ बताउनुहुन्छ । आफूले जानेको कामलाई व्यवसायिक रुपमा गर्दा पहिचान पनि बन्ने र समय बिताउन पनि सहज हुने उहाँ बताउनुहुन्छ ।

अष्ट्रेलिया र लण्डन घुम्ने क्रममा त्यहाँका सपिङ मलमा उहाँले भारत, चीन र बंगलादेशलगायत देशका पहिचान झल्कने धेरै खानेकुरा देखेपछि नेपालको पहिचान हुने सामाग्री बनाउन उत्साह थपिएको थियो । विदेश घुमेर नेपाल फर्किएलगत्तै नेपालको पहिचान खोज्ने क्रममा मस्यौरा, गुन्द्रुक बनाउने विचार आएको उहाँले बताउनुभयो ।

घरमै रहेको मेसिनले मास पिस्ने र कर्कलाको डाँठ काटेर मस्यौरा बनाउने अम्बिका वर्षमा २० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्नुहुन्छ । लागत र आफ्नो तलब कटाएर १४ देखि २० प्रतिशतसम्म बचत हुने गरेको उहाँले बताउनुभयो । आफ्नै जमिनमा कर्कलो हुर्काएर तयार पारिएको मस्यौरा उहाँले घर नजिकैको पसल हुँदै विदेशसम्म पुर्याइ सक्नुभएको छ ।

मस्यौरा बेचेर आएको कमाइबाट उहाँले उद्योगमा सोलार तथा अन्य आवश्यकीय सामान राख्नुभएको छ । अहिलेसम्म उहाँले यो कामका लागि ७ लाख रुपैयाँ लगानी गरिसक्नु भएको छ । नेपालीको हरेक घरमा हुँदै आएका सुख्खा तरकारी व्यवस्थापनलाई आफूले व्यवसायीक रुपमा अगाडि बढाएको उहाँले बताउनुभयो ।

सहर बजारमा बसोवास गर्नेहरुले फोन गरेर घरमै सामान लिन आउँछन् । पूर्व पश्चिम यात्रा गर्ने क्रममा सरकारी कार्यालयका कर्मचारीहरु पनि अर्डर गरेर घरबाटै सामान लान्छन् । कहिलेकाहीँ त एक दिनमै ५० हजार रुपैयाँको सामान बिक्री भएको उहाँले बताउनुभयो ।

‘मान्द्रो नेपाल’ नामको ब्राण्ड नै बनाउनुभएको छ । यो ब्राण्डमा उहाँले मस्यौराका अलावा गुन्द्रुक, मुलाको चाना, सिन्की, काउली, बन्दा, कर्कलोको डाँठ र कुभिन्डोको सुकुटी, कर्कलोको गावालगायतका नेपाली पहिचानका खाद्यवस्तुहरू उत्पादन गरेर विभिन्न परिमाणका प्याकेटमा बजार पुर्याउनुहुन्छ ।

अहिले गुन्द्रुक बनाउन साग उत्पादनको जिम्मा महिलाहरूको कृषि समूहलाई दिनुभएको छ । काउली, बन्दा पनि यसैगरी खरिद गरेर सुकुटी बनाउनुहुन्छ । उहाँको यो उद्योगमा करिब एक दर्जन महिलाहरू काम गर्छन् । घरको छतमा ७ वटा सोलार पाता छन् ।

मानव निर्मित उत्पादनलाई सुकाउने काम ती सोलार पाताले गर्छन् । सुक्खा भइसकेपछि उहाँ त्यसलाई प्याकिङ गरेर बजारसम्म पुर्याउनुहुन्छ । सहर बजारमा बस्नेहरुलाई आफ्नै घरबाट बिक्री गर्दै आउनुभएको उहाँले विदेश जानेहरुका लागि आवश्यक अनुसारको प्याकेजिङको व्यवस्था मिलाउँदै आउनुभएको छ । विदेश जाँदै गरेकाहरू यहाँ पुगेर उहाँका उत्पादन खरिद गर्छन् ।

‘विदेश जानेहरु कोही आफ्नै लागि त कोही आफन्तका लागि उपहारको रुपमा लैजानका लागि मस्यौरा घरमै लिन आउनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘ हामीले उत्पादन गरेको धेरै सामान घरबाटै बिक्री हुन्छ ।’ चितवन र काठमाण्डौमा मान्द्रो नेपालका उत्पादनको बिक्री केन्द्र खोलिएको उहाँले बताउनुभयो । परम्परागत शैलीबाट उस्तै स्वादका परिकार अहिले बजारमा अभाव हुँदै गएकाले अहिले यो उत्पादन सबैको रोजाइ बन्दै गएको उहाँले बताउनुभयो ।

लकडाउन सुरु भएपछि उहाँको उत्पादन विदेश जाने क्रम बन्द भएको थियो । अहिले अन्तर्राष्ट्रिय उडान सुरु भएलगत्तै पुनः विदेश पठाउने तयारीमा उहाँ बताउनुहुन्छ । निर्यातको प्रक्रियाबारे तालिम लिएको बताउँदै उहाँले बिस्तारै आफैंले निर्यात गर्ने सोच बनाएको बताउनुभयो । लगानी बढाएर थप व्यवसायीक रुपमा मस्यौरा गुन्द्रुक र सुख्खा तरकारीको बजारमा काम गर्ने उहाँको तयारी छ ।