पीडै-पीडामा यूएई पुगे स्टोक्स

रामेछाप खबर संवाददाता

एजेन्सी,२२ असोज। ।

बेन स्टोक्स आईपीएलका लागि राजस्थान रोयल्सको टोलीमा सहभागी हुन निकै ढिला यूएई पुगे । त्यसअघि स्टोक्स आफ्नो जन्मराष्ट्र न्युजिल्यान्डमा थिए ।

न्युजिल्यान्डमा उनी आफ्ना बिरामी बुबासँग समय बिताइरहेका थिए । जो हाल क्यान्सरको पीडासँग लडिरहेका छन् । बेन स्टोक्सले पछिल्ला समय न्यूजिल्यान्डमा आफ्ना परिवारसँगै बिताएका थिए । आईपीएलमा राजस्थान रोयल्सका केही खेल पूरा भएपछि मात्र स्टोक्स टोलीमा सहभागी हुन यूएई पुगेका थिए ।

लामो समय परिवारसँगै बिताएका उनले प्रतियोगिता सुरु भएको केसी समयपछि यूएई पुग्‍नुको कारण बताएका छन् । उनले आफ्नो बुबाका कारण खेलमा पुनः फर्किएको प्रतिक्रिया दिएका छन् ।

डेली मिररमा लेखिएको रिपोर्टअनुसार स्टोक्सले यस्तो अवस्थामा आफ्नो बुबा-आमा र भाइलाई छोडेर हिँड्न निकै कठिन भएको बताएका छन् । उनले परिवारका रुपमा यो निकै नै कठिन समय भएकोसमेत बताए । यस समय परिवारका सदस्यले एक-अर्कालाई साथदिन आवश्‍यक भएको उनले बताए ।

“बाहिरबाट कसैले भनेर नभई आफ्नो आमा-बुबाको आशीर्वादले म आईपीएल खेल्न आएको हुँ । मेरो जिम्मेवारीलाई लिएर बुबा सचेत हुनुहुन्छ र उहाँले मलाई मेरो कामको कर्तव्य मान्दै पूरा गर्न भन्‍नुभयो,” स्टोक्सले भने, “धेरै विचार-विमर्शपछि यस फैसलामा कि मैले आफ्नो खेलमा पनि ध्यान केन्द्रित गर्नुपर्छ । त्यसपछि म आफ्नो श्रीमती क्लैर र बच्चा भएको ठाउँमा फर्किएँ ।”

स्टोक्सका क्यान्सर रोगबाट पीडित बुबाको न्युजिल्यान्डमा उपचार भइरहेको छ । बेन स्टोक्स आफ्नो बुबाको स्वास्थ्य समस्या थाहा हुनेबित्तिकै इङल्यान्ड र पाकिस्तानबीचको सिरिज छाड्दै न्युजिल्यान्ड पुगेका थिए ।