सधैं घर आएर रूने गर्थे आमिर, यस्तो छ कारण

रामेछाप खबर संवाददाता

काठमाडौँ, २१ असोज ।

बलिउड अभिनेता आमिर खान हाल आफ्नो आगामी सिनेमा ‘लाल सिंह चढ्ढा’को तयारीमा लागिरहेका छन्।

उनले आफ्नो सिनेमा र अन्दाजबाट मानिसहरूको दिल जित्न कुनै कसर बाँकी राखेका छैनन्। तर यहाँसम्मको यात्रा उनका लागि सहज भने भएन।

हालै एक विश्वविद्यालयका विद्यार्थीहरूलाई सम्बोधन गर्ने क्रममा आफ्ना करियरका उतारचढावका बारेमा बताए।

सो क्रममा उनले आफू एकसमय निक्कै दुःखी हुने गरेको र घर आएर रूने गरेको बताए।

त्यतिबेला करियर डुब्न लागेको चिन्ताले रूने गरेको उनको भनाइ छ।

‘कयामत से कयामतपछि मैले कथा सुनेकै भरमा ८ देखि ९ सिनेमामा हस्ताक्षर गरें। सो समयमा सबै निर्देशकहरू मेरा लागि नयाँ र अन्जान थिए’, आमिरले भने, ‘ती सिनेमाहरू लगातार सुरू हुनथाले र मिडियाले मेरो एउटा मात्र सिनेमा चल्ने र बाँकी नचल्ने भन्न थाले। मेरो करियर डुबिरहेको थियो। मलाई म कति हतारमा छु जस्तो लाग्थ्यो। म एकदमै दुःखी थिएँ। त्यो समय म घर आएर धेरैजसो रूने गर्थे।’

आमिरका अनुसार त्यो समयमा उनलाई जोसँग काम गर्ने चाहाना थियो, उनीहरूले उनीसँग काम गर्न कुनै चासो दिइरहेका थिएनन्।

‘कयामत से कयामत तक पछिका दुई वर्षसम्म मैले आफूलाई सबैभन्दा कमजोर अवस्थामा रहेको महशुस गरेको थिएं। जो सिनेमा मैले हस्ताक्षर गरेको थिएं, ती लगातार रिलिज हुँदै फ्लप हुँदै गए’, उनले भने, ‘यस्तोमा मलाई लाग्थ्यो म सकिएं। अब यहाँ म बाँच्ने कुनै बाटो बचेको छैन किनकी मलाई थाहा थियो मेरा रिलिज हुन बाँकी सिनेमा कति खराब थिए।’

त्यसपछि आमिरले आफ्नो करियर सकियोस तर राम्रो निर्देशक, स्क्रिप्ट र निर्माता नभेटेसम्म सिनेमामा हस्ताक्षर नगर्ने अठोट लिएको सम्झना गरे।

उनको सो अठोटले काम गर्‍यो। उनले त्यसपछि आफूलाई राम्रा सिनेमाबाट राम्रा अभिनेताका रूपमा परिस्कृत आए। त्यसैले आज उनलाई बलिउडको मिस्टर परफेक्सनिस्टका रूपमा चिनाएको छ।