क्वारेन्टाइनमा बसेर छायांकन सके अक्षय कुमारले

रामेछाप खबर संवाददाता

मुम्बई,१६ असोज ।

बलिउड अभिनेता अक्षय कुमारले लकडाउनकै बीचमा आफ्नो नयाँ फिल्म ‘बेल बटम’को सुटिङ सम्पन्न गरेका छन् । फिल्म यात्राको करियरमै दैनिक १६ घन्टासम्म लगातार काम गरेर अक्षयले यो फिल्मको छायांकन एक महिनामै सम्पन्न गरेका छन् । यो फिल्मका लागि सुरुमा दुई महिनादेखि ७० दिनको छायांकन मिति तय गरिएको थियो । तर, कोरोना संक्रमणका कारण लकडाउन जारी रहेपछि उनले डबल सिफ्टमा काम गरेर फिल्मको छायांकन एक महिनामै सकेका हुन् ।

यो फिल्मसँग जोडिएका सबै कलाकार तथा प्राविधिकल यो एक महिनासम्म क्वारेन्टाइनमा बसेका हुन् । फिल्मको छायांकनको क्रममा कोरोना भाइरसबाट कोही पनि संक्रमण नहुन् भन्दै कलाकार प्राविधिकहरू बाहिरी सम्पर्कबाट टाढा रहे । यसरी आफूहरूले क्वारेन्टाइनमा रहेर एक महिनामै काम सकेको पनि अक्षय कुमारले बताएका छन् ।

मुम्बईमा लकडाउन जारी रहेको बेला यो फिल्मको छायांकन भएको हो । लकडाउन नसकिँदै फिल्मको छायांकन सम्पन्न भएको हो । अक्षय कुमारका अनुसार अहिलेको अवस्थामा सबै जना परिवारबाट टाढा रहेर क्वारेन्टाइनमा बसी काम गर्नुपर्ने भएकाले दैनिक १६ देखि १८ घन्टासम्म फिल्मको छायांकन गरिएको हो ।

आफूले विगतमा १८ वर्षदेखि दैनिक ८ घन्टा अर्थात् एक सिफ्ट मात्र फिल्मको छायांकन गरेको अक्षयको कथन छ, ‘तर मैले डबल सिफ्टमा दैनिक १६ घन्टा काम गर्दा छायांकन चाँडै सकिने र सबै परिवारसँग निकट हुन पाउने भएपछि यसपटक १६ घन्टा दैनिक काम गरेको हुँ,’ उनले सञ्चारकर्मीसँग भने । यसअघि आफूले एउटा फिल्मको छायांकन ४५ दिन देखि ७० दिनसम्म लगाएको पनि उनले बताएका छन् ।

यो फिल्म ४० वर्षअघिको कथामा आधारित छ । जसमा अभिनेता अक्षय कुमार सन् १९८० को दशकको एक जासुस पात्रको रूपमा प्रस्तुत भएका छन् । फिल्म सत्य घटनामा आधारित रहेको बताइएको छ ।

बेलबटममा अक्षय कुमारसँगै हुमा कुरेशी, लारा दत्त र वाणी कपुरलगायत कलाकारको अभिनय रहेको छ । यो फिल्म सन् २०२१ को २ अप्रिलमा रिलिज गर्ने घोषणा गरिएको छ । फिल्मको छायांकन सकिएसँगै फस्ट लुक्स पनि सार्वजनिक गरिएको छ ।