डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

रामेछाप खबर संवाददाता

काठमाडौँ, १६ असोज।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको जनाएको छ । निगमले बिहीबार राती १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य १/१ रुपैयाँका दरले घटाएको हो ।

डिजेल तथा मट्टितेलको मूल्य ८९ रुपैयाँ कायम गरिएको छ । पेट्रोलको मूल्य भने १०७ रुपैयाँ नै यथावत रहेको निगमले जनाएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले १५/१५ दिनमा स्वचालित मूल्यप्रणाली अनुसार मूल्य समायोजन गरिएको जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा घटेको र सोही अनुसार भारतीय आयल कर्पोरेसनबाट मूल्य समायोजन भएर आएकोले मूल्य घटेको हो ।