काठमाडौँ , ११ असोज ।
भारतको पश्चिम बंगाल सरकारले कोरोना भाइरस महामारीका कारण बन्द रहेका सिनेमाघरलाई अक्टुबर १ देखि खोल्न दिने निर्णय गरेको छ। राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले ट्विट गर्दै सोको जानकारी दिएकी हुन्।
निर्णय अनुसार सिनेमाहलका अलावा रंगमञ्च, संगीत, नृत्य तथा जादूसम्बन्धी क्रियाकलाप गर्ने अनुमति पनि दिइएको छ। यस्तै एकपटकमा ५० वा सोभन्दा कम संख्यामा पनि मानिसहरू जमघट गर्न पाउनेछन्।
यसैगरी सबै क्षेत्रमा सामाजिक दूरीको पालना, मास्कको प्रयोग र रोकथामका नियमहरूको अनिवार्य पालना गर्नुपर्नेछ। मार्चदेखि सुरू भएको लकडाउनका कारण भारतभरका सिनेमा हल बन्द रहँदै आएको छ। बन्द सिनेमा हल खोल्न दिने बंगाल पहिलो भारतीय राज्य हो।
यस्तै भारतको विहार राज्यमा विधान सभा सदस्य चयनका लागि तीन चरणमा मतदान गराइने भएको छ।मतदान आगामी अक्टोबर २८, नोभेम्बर ३ र नोभेम्बर ७ तारिखका दिन गर्ने तय भएको अधिकारीहरूले बताएका छन् ।कोरोना भाइरसबाट सृजित महामारी चलिरहेकै बेला हुन लागेको भारतको यो सबैभन्दा ठूलो निर्वाचन मानिएको छ।
तीनै चरणका निर्वाचनको मतगणना भने नोभेम्बर १० तारिखका दिन गर्ने तालिका बनाएको निर्वाचन आयोगले शुक्रबार जानकारी दिएको छ।अहिले घोषणा गरिएको निर्वाचनबाट भारतको विहार राज्य सभाका लागि २ सय ४३ जना सदस्य निर्वाचित हुनेछन्।
निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल अरोराले मतदानको दिन विहान ७ बजेदेखि मतदान सुरू गरिने जानकारी दिए।कोरोना र विद्रोही समूहहरूबाट बढी प्रभावित क्षेत्रहरूमा भने केही समय थपघट गर्न सकिने पनि उनले बताए।
कोरोना भाइरसको महामारीले विश्वका धेरै देशलाई प्रभावित पारेको र धेरै देशका निर्वाचन हुन नसकिरहेका बेलामा बिहारमा निर्वाचन हुन लागेको हो।
विहारमा गर्न लागिएको निर्वाचनका लागि कोरोना भाइरस फैलिन नदिनका लागि विषेश स्वास्थ्य सतर्कतासहितको मापदण्डहरू तय गरिएको आयोगले जनाएको छ।
पहिलो चरण अन्तर्गत अक्टोबर २८ तारिखका दिन हुने मतदानमा ७१ पदका लागि निर्वाचन हुनेछ भने नोभेम्बर ३ तारिखका दिन हुने दोस्रो चरणको निर्वाचनबाट ९४ जना निर्वाचित हुनेछन्।
त्यसैगरी नोभेम्बर ७ तारिखका दिन हुने मतदानबाट अरु ७८ जना विधान सभा सदस्यहरू चयन हुनेछन्।आयोगका अनुसार निर्वाचनका लागि सात लाख सेनिटाइजर, ४६ लाख मास्क, छ लाख पिपिइ, छ लाख ७० हजार अनुहार ढाक्ने र २३ लाख जोडी हाते पञ्जाको व्यवस्था गरिएको छ।
यी सामग्रीहरूको प्रयोग बाहेक सामाजिक दुरी कायम गर्ने, भिडभाड गर्न नहुनेलगायतका नियमलाई पनि कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरिएको छ।
यस्तै मुकेश अंबानीको स्वामित्वमा रहेको रिलायन्स रिटेलले अमेरिकी निजी इक्विटी कम्पनी सिल्वरलेक पार्टनर्सबाट ७५०० करोड रुपैयाँ भारु लगानी गरेको छ। रिलायन्स रिटेलले आफ्नो १.७५ प्रतिशत शेयर बेचेको छ । लगातार दोस्रो पटक सिल्वरलेकले रिलायन्स इन्डस्ट्रीजको एकाईमा लगानी गरे हो । रिलायन्सको जियो प्लेटफर्ममा १।३५ अर्ब डलर स्वामित्व रहने छ । कम्पनीले दुई किस्तामा जियो प्लेटफार्ममा लगानी गरेको छ ।
हालै अमेरिकी इक्विटी कम्पनी केकेआरले पनि रिलायन्स रिटेलमा ५५५० करोड लगानी घोषणा गरेको छ । रिलायन्स उद्योग समूहमा केकेआरको दोस्रो लगानी हो । यो लगानी पछि केकेआरको रिलायन्स रिटेलमा १.२८ प्रतिशत शेयर हुनेछ । अमेरिकी इक्विटी फर्म केकेआरले जियो प्लेटफार्ममा १.६ अर्ब डलर लगानी गरेको छ ।
एक रिपोर्ट उल्लेख गरिए अनुसार सोशल साइट फेसबुक र ई-कमर्स कम्पनी अमेजन पनि रिलायन्स रिटेलमा लगानी गर्न तयार छ । फेसबुकले जियो प्लेटफर्ममा करिब ४५ हजार करोड रुपैयाँ भारुको लगानीमा १० प्रतिशत हिस्सा लिएको छ ।
रिलायन्स रिटेल ब्रिटेनको डिपार्टमेन्ट स्टोर डेबेनहम्स पनि किन्ने दौडमा रहेको छ । बेलायतको स्काई न्यूज च्यानलका अनुसार उक्त सम्झौता सेप्टेम्बरको अन्त्यसम्ममा हुने छ । समाचारका अनुसार रिलायन्स रिटेल यस डिपार्टमेन्ट स्टोर किन्ने गम्भिरता देखाएको छ । डेबेनहम्सहरू अहिले बैंक कन्सोर्टियमको स्वामित्वमा रहेको छ । यस अघि मुकेश अम्बानीको नेतृत्वमा रिलायन्सले बेलायतको सबैभन्दा पुरानो खेलौना कम्पनी ह्यामलिस पनि किनिसकेको छ ।