ओली–प्रचण्ड भेट सकियो, मंगलबार नै मन्त्रिपरिषद् हेरफेर हुनसक्ने

रामेछाप खबर संवाददाता

काठमाडौँ , ६ असोज ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको भेटघाट सकिएको छ । यो भेटघाटमा यी दुई नेकपाका अध्यक्षले मन्त्रिपरिषद् हेरफेरबारे छलफल गरेका थिए । यो छलफलपछि मंगलबार बस्ने भनिएको सचिवालय बैठक अगाडि नै मन्त्रिपरिषद् हेरफेर हुनसक्ने बताइएको छ ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली र प्रचण्डबीच कोकसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल भएको हो ।

सोमबार पेरिस डाँडामा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले तीन तरिकामा अहिलेको मन्त्रिपरिषद् हेरफेर गर्न सकिने प्रस्ताव राखेका थिए । उनले पूरै मन्त्रिपरिषद् फेर्ने वा केही मन्त्रीहरुलाई मात्र फेर्ने राखेको प्रस्तावमध्ये दोस्रोमा अधिकांश सचिवालय सदस्यले सहमति जनाएका थिए ।

तर, प्रतिनिधिसभाको निर्वाचनमा पराजय भोगेका नेकपा उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि मन्त्री हुने चाहना व्यक्त गरेपछि यो विषयमा निष्कर्षमा पुग्न ओली र प्रचण्ड सकेका छैनन् । गौतम र श्रेष्ठ दुवै जना अहिले राष्ट्रिय सभा सदस्य रहेका छन् ।

आज भएको भेटघाटमा प्रचण्ड र ओलीबीच सम्भावित मन्त्रीहरुको बारेमा छलफल भएको बताइएको छ । तर, मन्त्रीहरुको टुङ्गो लगाउने जिम्मेवारी प्रधानमन्त्री ओलीलाई नै दिइएको स्रोतको दाबी छ ।