काठमाडौँ , ५ असोज ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाले केन्द्रीय कमिटी सदस्यहरू र पार्टीका पूर्णकालीन कार्यकर्तालाई नियमित रूपमा आर्थिक सहयोग दिने एजेन्डा सचिवालयमा प्रस्तुत गरेको छ।
आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा यस्तो प्रस्ताव आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
भोली बस्ने बैठकमा यसबारे थप छलफल हुने भन्दै उनले भने, ‘केन्द्रीय कमिटी सदस्यलाई नियमित रूपमा आर्थिक सहयोग गर्ने एजेन्डा पनि छलफलका लागि राखिएको छ, ‘पूर्णकालीन कार्यकर्ता तलदेखि माथिसम्म कुनै न कुनै ढंगले सहयोग गर्ने कम्युनिष्ट पार्टीले अभ्यास गर्दै आएको नीति हो।’
एक हप्ताभित्रै मन्त्रिपरिषद पुनर्गठन हुने निश्चित, मापदण्डबारे छलफल
नेकपा सचिवालय बैठकमा मन्त्रीमण्डल पुनर्गठन हुने निश्चित भएपछि विभिन्न मापदण्डका विषयमा छलफल सुरु भएको छ। आइतबारदेखि पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा सोमबारसमेत सोही विषयमा छलफल हुने भएको छ।
विवाद समाधान कार्यदलले दिएको सुझावका आधारमा स्थायी कमिटीले प्रदेश र संघीय सरकारको मन्त्रीमण्डल पुनर्गठन गर्ने निर्णय गरेपछि सचिवालय बैठकमा छलफल सुरु भएको हो। प्रधानमन्त्रीज्यूले मन्त्रीमण्डल पुनर्गठनका सम्बन्धमा सुझाव मागेपछि सचिवालय सदस्यहरुले आ-आफ्नो सुझाव दिएको महासचिव विष्णु पौडेलले बताए।
‘प्रधानमन्त्रीज्यूले मन्त्रीमण्डल पुनर्गठन गर्नुपर्ने छ। कसरी गर्दा ठिक हुन्छ? सुझाव दिनुस् भन्नुभयो,’ महासचिव पौडेलले भने, ‘सचिवालय सदस्य साथीहरुले आफ्नो सुझाव दिनु भएको छ। त्यही सुझावका आधारमा मन्त्रीमण्डल पुनर्गठन हुन्छ होला।’
मन्त्रीमण्डल पुनर्गठनका सम्बन्धमा नेताहरूले फरकफरक धारणा राखेको अर्का एक सचिवालय सदस्यले बताए। पहिलो मोडलमा प्रधानमन्त्री मात्रै राखेर सबै मन्त्रीलाई फालेर नयाँ मन्त्रीलाई जिम्मेवारी दिएर पुनर्गठन गर्नु पर्ने सुझाव दिएको छ।
यस्तो गर्दा आम जनतामा नयाँ सन्देश जाने भएकाले काम गर्न सहज हुने सुझाव दिएको छ। दोस्रो मोडलको रुपमा मन्त्री भएको २ वर्ष पुगेकालाई बिदाई गरेर पुनर्गठन गर्नुपर्ने र तेस्रो मोडलको रुपमा रिक्त मन्त्रालयलाई मन्त्रीको जिम्मेवारी दिने विषयमा सुझाव दिएको ती सचिवालय सदस्यले बताए।
सोमबार बस्ने सचिवालय बैठकमा मन्त्रीमण्डल पुनर्गठनकै सम्बन्धमा छलफल भई एउटा निष्कर्षमा पुगिने नेताहरूले बताएका छन्। सचिवालय बैठकबाट सबै नेताहरुको सुझावलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्रीले तयारी गरेका छन्।
प्रधानमन्त्री केपी ओलीले रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ परिवर्तन गर्न नसक्ने संकेत यसअघि नै गरिसकेका छन्। सबै मन्त्रीलाई हटाएर पुनर्गठन गर्नुपर्ने अवस्था आएपनि पोखरेल र थापालाई नहटाउने उनको मनशाय छ।
यस्तै निर्वाचन हारेर राष्ट्रियसभामा गएका प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष वामदेव गौतमलाई समेत मन्त्री बनाउन नसक्ने अडान प्रधानमन्त्रीले दोहोर्याइरहेका छन्।
सोमबारदेखि सुरु भएको सचिवालय बैठकमा मन्त्रीमण्डल पुनर्गठन, पार्टी एकताका बाँकी काम र संवैधानिक नियुक्तिका सम्बन्धमा छलफल गर्ने एजेन्डा तय गरिएको थियो। तर, बैठकमा मन्त्रीमण्डल पुनर्गठनकै एजेन्डाले बैठकमा धेरै समय लिएको ती सचिवालय सदस्यले बताए।