काठमाडौं, ४ असोज ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधान सबै अट्ने गतिशील दस्तावेज भएकाले त्यसमा केही आशंका र अस्पस्टता भए हटाउन सरकार तयार रहेको बताएका छन् ।‘संविधान सबै अट्ने गतिशील दस्तावेज भएकाले त्यसमा केही आशंका र अस्पस्टता भए हटाउन सरकार तयार छ’, प्रधानमन्त्रीको भनाइ छ । संविधान दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
सम्बोधनका क्रममा सरकारले गरेका कामकारवाहीको प्रस्तुति दिएका प्रधानमन्त्री ओलीले लोकतन्त्र निरंकुश तन्त्रको विकल्प भएकाले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै कसैकसैले सरकार र सत्तारुढ दलको लोकतन्त्रप्रतिको निष्टाका बारेमा गरेको आशंका र भ्रमबाट विस्मित हुने गरेको बताए ।‘जता हावा बग्छ त्यतै बरालिने लोकतन्त्र होइन । लोकतन्त्र विधिको शासन हो । मर्यादित र अनुशासिन प्रणाली हो’,प्रधानमन्त्रीको भनाइ छ । उनले लोकतन्त्रमा आमसञ्चारमाध्यमहरुको भूमिका महत्त्वपूर्ण हुने भन्दै सञ्चारमाध्यमहरु व्यवसायिक बन्न नसकेको गुनासो गरे ।
प्रधानमन्त्री ओलीले बौद्धिक जगतले बाटो बिराउन वा अल्मलिन नमिल्ने भन्दै संकटका बेला हल्लाहरुले मानिसको मन दुखित तुल्याउने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।कोरोना भाइरसका कारण अन्य मुलुकमा आर्थिक वृद्धिदर नकारात्मक भएपनि नेपालमा सकारात्मक रहेको भन्दै उनले कोरोना नियन्त्रणमा आएपछि मुलुकको आर्थिक अवस्था विस्तारै पुरानै लयमा फर्कने विश्वास व्यक्त गरे ।
उनले कोरोना महामारी रोकथामका लागि सरकारले गरेको काम उत्साहजनक भएको भन्दै नेपालमा कोरोनाको पहिलो केस पहिचान हुँदा परीक्षण गर्न विदेशमा नमुना पठाउनु परेको स्मरण गरे ।तर, अहिले ४७ वटा प्रयोगशाला विस्तार गरेर प्रतिदिन २३ हजारसम्म परीक्षण गर्न सकिने अवस्थामा पुग्नु सरकारको सफलता रहेको दावी गरे । प्रधानमन्त्रीले पहिलोपटक चैत ११ गतेपछि लकडाउन गरेयता जनजीवन सामान्य हुन नसकेको भन्दै त्यसका कारण विकास निर्माणका धेरै कामहरु सम्पन्न हुन नसकेको पनि बताए ।
छैठौं संविधान दिवसका अवसरमा शान्तिका प्रतिक ६ जोडी परेवा पनिउडाइएको थियो । कार्यक्रममा नेपाली सेनाले विभिन्न व्याण्डबाजासहित राष्ट्रिय धुनहरु बजाएको थियो । नेपालको राष्ट्यि झण्डा झण्डोतोलन गरेर सुरु भएको कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, समाभुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो भने नेपाली सेनाको २ हेलिकोप्टरबाट संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ अंकित व्यानर प्रदर्शन तथा पुष्पवृष्टि गरिएको थियो ।