असोज २, काठमाडौं ।
नेपालमा शुक्रवार थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा थपिएका कोरोना संक्रमितको संख्या नेपालमा हालसम्मकै उच्च संख्या हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ३९० जनाको मृत्यु पुष्टि भएको छ ।
हालसम्म डिस्चार्ज भएर घर फर्कनेको संख्या ४२ हजार ९४९ पुगेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार २४३ जना रहेको छ । हाल होम आईसोलेशनमा ८ हजार ८८८जना रहेका छन् ।विगत २४ घण्टामा ८७१ जना डिस्चार्ज भएका छन् । हालसम्म ४३ हजार ८२० जना डिस्चार्ज भएका छन् ।
हाल आईसीयूमा १७३ जना रहेका छन् । विगत २४ घण्टामा ८७१ डिस्चार्ज भएका छन् । हाल क्वारेन्टाइनमा ७ हजार ७३६ जना रहेका छन् ।विगत २४ घण्टामा११ हजार ४५८ जनाको पीसीआर परीक्षण भएको छ। हालसम्म ८ लाख ९४ हजार जनाको पीसीआर परीक्षण भएको उक्त मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार संस्थागत आईसोलेशनमा हाल ९ हजार २९५ जना रहेका छन् भने सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् । काठमाडौं उपत्यकामा विगत २४ घण्टामा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रवक्ता गौतमका अनुसार काठमाडौं जिल्लामा ६९८ जना, ललितपुर जिल्लामा ७९ र भक्तपुर जिल्लामा ८२ जना संक्रमित थपिएका छन् ।