विद्युतीय कार दिगो ई–८ को बुकिङ खोल्यो

रामेछाप खबर संवाददाता

काठमाडौँ, २ असोज ।

कार बिक्रेता कम्पनी दिगोले दिगो ई–८ विद्युतीय सिटी कारको बुकिङ खुला गरेको छ । ऊर्जा कम्पनी दिगोका अनुसार दिगो ई– ८ मा आधुनिक डिजाइन, वातावरणमैत्री, नवीन डिजाइन र उन्नत प्रविधिको मिश्रण गरिएकाले यसले कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग पुर्‍याउनेछ ।

दिगो ई–८ ठूलो हेडल्याम्प, एलइडी ल्याम्प, डुअल–टोन, स्पोर्टी र आधुनिक स्वरुपको रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार कारमा ७ इन्चको टचस्क्रिन, ड्राइभ मोडमा बदल्न मिल्ने अप्सन र अटोमेटिक ट्रान्समिसन रहेकाले सहरी यात्राका लागि उपयुक्त छ ।

कारमा पावर विन्डो, पावर स्टेरिङ, एडजस्टेबल हेडरेस्ट, सेफ्टी बेल्ट, एयर कन्डिसनिङ, युएसबी चार्जरलगायतका सुविधा राखिएका छन् ।

दिगो ई–८ ले १५.२ किलोवाट आवर लिथियम आइरन फस्फेट ब्याट्रीले फुल चार्जमा सामान्य अवस्थामा १५० किलोमिटर माइलेज दिन्छ । ३ किलोवाटको चार्जरमा आउने यो कार घर वा कार्यालयमा सजिलै चार्ज गर्न सकिने कम्पनीले बताएको छ ।

दिगो ई–८ को बुकिङ खुला गर्न आयोजित कार्यक्रममा कम्पनीका सिइओ हेमन्त पुरानिकले नेपालको अटो उद्योगमा नयाँ भए पनि कारलाई नेपालीले मन पराउने विश्वास व्यक्त गरे ।