विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला

रामेछाप खबर संवाददाता

काठमाडौं, ३० भदौ ।

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिइएको छ।

ऊर्जा मन्त्री वर्षमान पुनले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालाई निमित्तको जिम्मेवारी दिएको ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले रातोपाटीलाई जानकारी दिए । प्राधिकरणमा उपकार्यकारी निर्देशकको भूमिकामा रहेका कोइरालालाई वरिष्ठताको आधारमा सो जिम्मेवारी दिइएको हो ।

गत आइतबार कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङको आज विद्युत प्राधिकरणबाट बिदाइ गरिएको थियो ।

उर्जामन्त्री पुनले सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेपनि प्रधानमन्त्रीले यसबारे थप छलफल गर्ने भन्दै ‘होल्ड’मा राखिदिएका छन् ।

अँध्यारोबाट उज्यालो युगमा डोर्‍याएका कुलमानका चार वर्ष : झण्डै डुबेको संस्था ११ अर्ब नाफामा

नेपाल सरकारका सार्वजनिक संस्थानमा को कसले राजनीतिक नियुक्ति लिएर आउँछ भन्ने कुराको चासो आम मानिसलाई हुँदैन । ती संस्थामा पुग्ने मानिस कोही चर्चाको शिखरमा पुग्ला वा नपुग्ला त्यो कर्मले निर्धारण गर्दछ ।

नागरिकलाई सेवा दिने लक्ष्यका साथ सरकारले स्थापना गरेका अधिकांश सार्वजनिक संस्थानले जनतालाई सेवा दिएको र नाफा कमाएको पाउन समेत मुस्किल छ । अर्थ मन्त्रालयको विवरण हेर्ने हो भने त्यस्ता संस्थाहरु केवल खर्चका भारी मात्रै बनिरहेका छन् ।

केही वर्ष पहिलेसम्म नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा को आयो र गयो आम मानिसलाई थाहै हुँदैनथ्यो तर पछिल्ला चार वर्षमा अवस्था फेरिएको छ । प्राधिकरणको गरिमा र मर्यादा बढेको छ । त्यसले सरकारी संस्थान पनि सबल र सक्षम बन्न सक्छ भन्ने तथ्य स्थापित भएको छ । त्यसको पछाडि सरकारले छानेको सही व्यक्तित्व नै प्रमुख कारक बन्यो ।

सही व्यक्ति छनोट गर्दा सरकारी संस्थान पनि नाफामा जान सक्छ, आम मानिसको नजरमा पर्न सक्छ भन्ने कुराको उदाहरण बनेको छ, प्राधिकरण । सही व्यक्तिलाई सही स्थान दिँदा कुनै समय झण्डै रु ३४ अर्ब सञ्चित नोक्सानी व्यहोरेको प्राधिकरणले आर्थिक वर्ष २०७६–७७ सम्म आइपुग्दा झण्डै रु ११ अर्ब नाफा गरेको छ ।

यसको पछाडि त्यसको बागडोर सम्हाल्ने नेतृत्व र त्यसलाई सहयोग गर्ने कर्मचारीको प्रमुख हात रहेको छ । कुनै समय रु २९ अर्ब अपलेखन गर्दा समेत वार्षिक झण्डै आठ अर्बका दरले घाटामा गइरहेको प्राधिकरणलाई नाफाको युगमा परिणत गर्न पछिल्लो चार वर्षमा भएका प्रयास नै निर्णायक भएको छ ।

दैनिक १४ घण्टासम्म विद्युतभार कटौतीमा परेका, उज्यालो देख्न समेत मुस्किल भएका नेपाली नागरिकलाई आशा जगाउने, नेपालको ऊर्जा क्षेत्रमा केही गर्न सकिन्छ भन्ने सरकारको कामलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्ने काम समेत यस अवधिमा भएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्काली ऊर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका कुलमान घिसिङले प्राप्त गरेको चार वर्षको अवधिमा नेपाली जनतालाई अँध्यारोबाट उज्यालो यात्रामा डोर्‍याए ।

कार्यावधि यही भदौ २९ गते सकिए पनि प्राधिकरणले आज बिदाइ समारोहको आयोजना ग¥यो । बिदाइ समारोहमा सहभागी अधिकाशंले कार्यकारी निर्देशक घिसिङको पहिलो सत्र मात्रै सकिएको भन्दै चाँडै नै उनी पुनः कार्यकारी निर्देशक भएर आउने विश्वास समेत व्यक्त गरेका छन् । आम मानिसको चाहना छ, सक्षम व्यक्ति पुनः दोहोरिऊन् र संस्थालाई थप सबल बनोस् ।