काठमाडौँ, ३० भदौ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्नेबारे उठेको विषयलाई पाखा लगाइदिए । आइतबार सफल चार वर्षे कार्यकाल पूरा गरेका घिसिङको कार्यकाल थप्न लागेकोबारे यसअघि समाचारहरु प्रकाशित भएपछि प्रधानमन्त्री ओली तथा उनको ‘टिम’ले भने यसबारेमा चासो नै दिएका छैनन् ।
ऊर्जामन्त्री वर्षमान पुनले सार्वजनिक रुपमै कुलमानको पुनः नियुक्ति हुने अभिव्यक्ति दिएका थिए । त्यस्तै, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि कुलमानलाई निरन्तरता दिनुपर्ने भन्दै आएका छन् । यसअर्थमा पूर्व माओवादी खेमाका नेताहरु कुलमानको पक्षमा भएको प्रश्ट छ । किनकी कुलमानलाई प्राधिकरणमा नियुक्त गर्दा जर्नादन शर्माले उर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
तर, प्रधानमन्त्री ओली सहित उनी निकट व्यक्तिहरुले भने कुलमानको पुनःनियुक्तीबारे कटाक्ष गरिरहेका छन् । कुलमानको कार्यकाल सकिनै लाग्दा ओलीले उनको कार्यकाल थप्नेबारे चासो नदिनु, नेकपा प्रवक्ता श्रेष्ठले कुलमानको पक्षमा गरेको पोष्टमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कटाक्ष गर्नु, प्रधानमन्त्री निकट भनिएका पूर्व अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले ‘कुलमानलाई सामाजिक संजालले नियुक्ती दिएको’ भनेर प्रतिक्रिया दिनुले पनि कुलमानको विषयलाई लिएर पूर्व एमाले तथा पूर्व माओवादी पक्षबीच मतभेद रहेको प्रश्ट हुन्छ ।
विद्युत प्राधिकरणको कार्यकारीको जिम्मेवारी शाक्यलाई दिने तयारी !
कुलमानको लोकप्रियताको जस पूर्वमाओवादी खेमाले लिने भन्ने डरको कारण पनि ओलीले उनको कार्यकाल नथपेको भन्ने खालको टिप्पणी सामाजिक संजालमा हुने गरेको छ । त्यस्तै, कुलमानलाई निरन्तरता दिनुपर्ने आवाज चर्कोसँग उठिरहँदा सरकारले भने निर्णय लिन सकिरहेको छैन ।
त्यसोत, प्राधिकरणको प्रमुखको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई दिने तयारी भएको समाचार पनि आएका छन् । प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यको दवावमा हितेन्द्रदेवको नाम अघि आएको स्रोतको भनाई छ ।