काठमाडौँ, ३० भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिर्जनाका आधारभुमि मानिने बालबालिकामा सकारात्मक, सवल र जीवनमूखी रंग भर्नु राज्य, समाज,अभिभावक र परिवारको दायित्व भएको बताएका छन् ।राष्ट्रिय बाल दिवसका अवसरमा सोमबार शुभकामना दिदै प्रधानमन्त्री ओलीले बालबालिका कागजका खाली पाना भएकाले जहाँ जे लेख्यो त्यही पहिलो अक्षर बन्ने भन्दै उनीहरुलाई नैतिक आचरणमार्फत सकारात्मक ज्ञान सम्प्रेषण गर्नुपर्ने समेत बताएका छन् ।
‘विपद्मा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिवद्धता’ भन्ने नाराका साथ यो दिवस मनाइदैछ । सरकारले बालबालिकाको हक, हित र अधिकारको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । नेपालले संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धि १९८९, बालबालिका सम्बन्धी अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सन्धि सम्झौतालाई अनुमोदन गरी बालबालिकाको संरक्षण तथा बाल अधिकारको प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरमा प्रतिवद्धता समेत जनाएको छ ।
यस्तै सरकारले ‘सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने अभियान अन्तर्गत यस आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने नीति लिएको छ । बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरुलाई कानुनी दायरामा ल्याई कडा सजाय दिने र बालबालिकाहरुलाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्ने सरकारको प्रतिबद्धता छ ।
‘बालबालिकाको शारीरिक, मानसिक विकासका लागि सन्तुलित आहार, स्वच्छ उपयुक्त आवास, उपयुक्त प्रविधि प्रयोग सहितको स्तरीय शिक्षाको अधिकार, देशभक्ति, मानवता, सामाजिकता, उद्यमशीलता र रचनात्मकताको भावधारा जगाउने गुणवत्त शिक्षादीक्षाको अधिकार सुनिश्चित गर्ने यस सरकारको नीति छ’, प्रधानमन्त्रीले शुभकामना दिदै भनेका छन् ।
स्वस्थ्य रहन पाउने तथा उपचारको अधिकार, शारीरिक मानसिक दुर्बलता भएका बालबालिका समेतको भेदभाव बिरुद्धको समानता र समन्यायको अधिकार रक्षा, शारीरिक र मानसिक विकासका लागि खेलकूद र मनोरञ्जनको अधिकारजस्ता बालअधिकार र बाल अधिकारसँग सम्बन्धित सम्पूर्ण अधिकारहरुको प्रत्याभूतिप्रति वर्तमान सरकारले प्रतिवद्धता जनाएको छ ।
बालबालिकाहरुका लागि सुरम्य पारिवारिका–सामाजिक वातावरण निर्माण गर्न संघीय सरकारको प्रयास मात्र पर्याप्त नहुने भन्दै त्यसका लागि सबै तहका सरकार, राष्ट्र सेवक कर्मचारी, राजनीतिक दल, नागरिक समाज, विकासका साझेदार, निजी क्षेत्र तथा सञ्चारकर्मी सबैको रचनात्मक सहभागिता तथा सहयोगको अपेक्षा गरेको प्रधानमन्त्रीको भनाई छ ।
देशभित्र रहेका विकृति, पछौंटेपन हटाउने, देशलाई एउटा स्वच्छ, समृद्ध, आधुनिक, सभ्य र पूर्खाले कल्पना गरे अनुरुप ‘सर्वे भवन्तु सुखीनः’ (सबै सुखी होउन्)को गन्तब्यमा पु¥याउन सरकार अग्रसर रहेको भन्दै प्रधानमन्त्रीलेसामाजिक न्याय र समनता सहितको विकासलाई राष्ट्रको आकाङ्क्षा बनाएको बताएका छन् ।
‘समृद्ध नेपाल सुखी नेपालीको यस आकाङ्क्षा मानव जातिको आकाङ्क्षा हो, हाम्रो देशको आकाङ्क्षा हो । र, यो तपाईंहरुको भविष्य हो । यसको सफलता तपाईंहरुको जीवनको सफलतासँग गाँसिएको छ । तपाईंहरुले आजको समयलाई सही सदुपयोग गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्नुपर्छ । नकारात्मक र हानीकरक विचार, प्रबृत्तिबाट बच्दै सकारात्मक र सिर्जनात्मक सक्रियता बढाउनु पर्छ । आउँदो पिंढीको सुन्दर भविष्य निर्माण गर्ने यस अभियानमा तपाईंहरुको सचेत सहभागिता रहनेछ भन्ने मेरो विश्वास छ’, प्रधानमन्त्रीको विश्वास छ ।