विदेशबाट नेपाल फर्किदैँ हुनुहुन्छ ? लागू भयो यस्तो नयाँ नियम (विस्तृतमा हेर्नुहोस्)

रामेछाप खबर संवाददाता

काठमाडौँ, २९ भदौ ।

सरकारले खाडी तथा मलेसियाबाट दिनमा चार हजारसम्म नेपाली श्रमिकलाई ल्याउने भएको छ । रोजगार कटौतीमा परेर र करार अवधि सकिएर पनि महिनौंदेखि कुरिरहेका नेपालीले प्रवासी भूमिमा सरकारविरुद्ध नारा लगाउन थालेपछि बिहीबार उडान संख्या थप गर्न अनुमति दिइएको हो । यसअघि सरकारले दिनमा ८ सय जना मात्रै कोटा तोकेको थियो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई र श्रममन्त्री रामेश्वर राय यादवबीच भएको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री पोखरेलबीचको उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडान संख्या थप गर्ने समझदारी भएको छ । श्रममन्त्री यादवले नयाँ नीतिलाई बिहीबारबाटै कार्यान्वयनमा ल्याएको बताए । तत्कालका लागि पीसीआर रिपोर्ट नेगेटिभ भएकालाई मात्रै विमानले बोक्ने मन्त्री यादवले बताए । ‘एउटै विमानमा पीसीआरको नेगेटिभ रिपोर्ट भएका र नभएकालाई मिसाएर ल्याउन पाइएन । नेगेटिभ मात्रै विमानमा आए होटलमा वस्नुपर्दैन । सिधै होम क्वारेन्टाइनमा बस्न मिल्ने गरी घर जान पाउँछन्,’ उनले भने ।

खाडीसहित ३० देशबाट बुधबारसम्ममा ६० हजार २ सय ७२ जना नेपाली आइपुगेका छन् । खाडी तथा मलेसियाबाट स्वदेश फिर्न इच्छुकको संख्या अझै ९३ हजार छ । सबैभन्दा बढी यूएईमा ४० हजार, साउदी अरबमा १८ हजार, कतारमा १५ हजार, मलेसियामा १५ हजार र कुवेतमा ५ हजार जना स्वदेश फिर्तीको प्रतीक्षामा छन् । नेपाली राजदूतहरूले सीमित कोटाअनुसार नेपाली लैजाँदा मानवीय संकट आउने भन्दै परराष्ट्र मन्त्रालयसहित उच्च तहमा ध्यानाकर्षण गराएका छन् । ‘घर पठाउन तयार श्रमिकलाई चैतदेखि नै खाना खुवाएर राखिएको छ ।

कम्पनीले कहिलेसम्म अनुत्पादकशील श्रमिकलाई पालेर बस्ने भन्दै प्रश्न गर्छन् । ती कम्पनीबाट श्रमिक बाहिर आए के हुन्छ भन्ने डर छ । बाहिरको तापक्रम ४६ डिग्री छ । अन्यतिर बस्ने ठाउँ छैन । सार्वजनिक स्थानमा पिउने पानीको धारा भेटिँदैन’, कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने, ‘श्रमिकको मागअनुसार उडान गरिदिनुपर्छ । हरेक दिन एउटा उडान हुनैपर्छ ।’

कतारमा सरकारीले निःशुल्क र निजी स्वास्थ्य संस्थाले शुल्क लिएर पीसीआर परीक्षण गर्न थालेका छन् । स्वदेश फर्कने प्रतीक्षामा रहेका श्रमिकलाई पीसीआर परीक्षणको समस्या नहुने कतारका लागि नेपाली राजदूत भारद्वाजले बताए ।

नेपाल पत्रकार महासंघ यूएई शाखाका उपाध्यक्ष मेघराज सापकोटाले समयमा नेपालीको घरफिर्ती प्रक्रिया सहज नपारिँदा सरकारविरुद्ध विद्रोहको वातावरण बनिरहेको बताए । ‘मलाई उद्धार गरिदेऊ, कोठामा बसेको महिनौं भयो, म पीसीआर गर्न तयार छु, ऋण नै गरेर पनि टिकट काट्छु भन्ने धेरै भेटिन्छन् । सरकारले वास्ता गरेको छैन,’ उनले भने । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।