वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ भुकुम्प

रामेछाप खबर संवाददाता

काठमाडौँ, २८ भदौ ।

विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि एकाकार हुने भएको छ । जसको लागि नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ र सरकारद्वारा प्रतिबन्धित गरिएको पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’बीच छलफलसमेत चलेको छ । विप्लव निकट स्रोतले बताएअनुसार पूर्वमाओवादी पार्टीहरु बीचको एकता गराउन अब छिट्टै सामुहिक भेलाको समेत तयारी चलिरहेको छ ।

माओवादी निकट स्रोतले उल्लेख गरेअनुसार आगामी असोजभित्रै पूर्वमाओवादी पार्टीहरु बीचको एकताका लागि छलफल हुँदैछ । जसको लागि वैध र विप्लवले भित्रि रुपमा अगुवाई गरिरहेका छन् ।

२०६५ सालको पहिलो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस र तत्कालिन नेकपा एमालेलाई समेत निकै पछि पार्दै पहिलो नम्बरको पार्टी बनेको माओवादी पार्टी त्यसयता झण्डै दर्जनको हाराहारीमा विभाजित छ । माओवादी आन्दोलनको मुख्य नेतृत्वकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेसँग एकता गर्दै हाल सत्तारुढ नेकपाको नेतृत्वमा छन् ।

प्रचण्डसँगैका नेता बाबुराम भट्टराई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीमा चौथो वरीयतामा छन् भने बैद्य र विप्लवले बेग्ला–बेग्लै घटकको नेतृत्व गरिरहेका छन् । तत्कालिन माओवादीका प्रभावशाली नेता मानिने गोपाल किँराती हाल तत्कालिन माओवादी केन्द्रलाई ब्युँताएर बसेका छन् ।

‘लाईन क्लियर’ गर्न वैद्यले आग्रह गरेका थिए

विभाजन र टुटफुटले खुम्चिन बाध्य भएका मोहन वैद्य ‘किरण’ले पूर्वमाओवादीहरु बीच एकता गराउन बहस चलाउँदै आएका छन् । वैद्य निकट स्रोतले उल्लेख गरे अनुसार उनले सत्तारुढ नेकपाभित्रका नेता र प्रतिबन्धित नेकपाका नेताहरुसँग निरन्तर छलफल गरिरहेका छन् ।

पछिल्लो समय बैद्यले नेकपाका महासचिव विप्लवलाई ‘लाईन क्लियर गर्न’ भन्दै खबर पठाएका थिए । उनले विप्लवलाई एकता अनिवार्य रहेको भन्दै आगामी दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका थिए । जससँगै विप्लवले तयारी थालेको बुझिएको छ ।

नयाँ रणनीति बनाउन विप्लवको बैठक बस्दै

स्रोतले उल्लेख गरेअनुसार सरकारी प्रतिबन्धको पीडामा रहेको विप्लव नयाँ रणनीति बनाउन लागि परेका छन् । उनले पार्टी सचिवालको बैठकसमेत डाकेका छन् ।

जनाइएअनुसार यो साताभित्रै विप्लव नेतृत्वको नेकपाले सचिवालय बैठकमार्फत नयाँ रणनीति बनाउनेछ । वैद्यलगायत पूर्वमाओवादी नेताहरुसँग पार्टी एकताको लागि छलफलमा रहेका उनले खुल्ला राजनीति गर्ने गरि पनि रणनीति बनाउन तयारी थालेको बुझिएको छ ।

प्रतिबन्धित नेकपामा विप्लवसहित पाँच सदस्यीय सचिवालय छ । जसका एक सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ हाल जेलमा छन् । उनी २०७५ चैत ९ मा पक्राउ परेका थिए ।

एकताको पक्षमा महरा पनि, विप्लवसँग निरन्तर छलफलमा

पूर्वमाओवादी एकताको लागि विप्लव र पूर्वसभामुखसमेत रहेका नेकपा नेता कृष्णबहादुर महराबीच छलफलसमेत भएको बुझिएको छ । विप्लव निकट स्रोतले उल्लेख गरेअनुसार विप्लव र महराबीच केहि महिनादेखि निरन्तर छलफल छ । महरा पछिल्लो समय आफ्नो गृह जिल्ला रोल्पा छन् ।

सत्तारुढ पार्टीभित्र षडयन्त्रको शिकार भएका उनी पछिल्लो समय पूर्वमाओवादीहरु बीचको एकताको लागि पहल गर्न लागेको स्रोतले बताउँछ । महराका पुत्रहरुले पनि पूर्वमाओवादीहरुबीच एकता हुनुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत अभियान चलाईरहेका छन् ।

यसबीच पूर्वमाओवादीबीचको एकताको लागि पहल गरिरहेका महरा र वर्षमान पुनबीच भेटघाटसमेत भएको छ । गत साता उर्जामन्त्रीसमेत रहेका नेकपा नेता वर्षमान पुन महरालाई भेट्न रोल्पा पुगेका थिए । जनाइएअनुसार उनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट्न पठाएका थिए । एमसिसि प्रकरणमा महरालाइ फसाइएको पुष्टि भएपछि ठुलो संख्याका पुर्व माओवादीहरुले उनी प्रतिको सहानुभुति बढाएका छन ।

सत्तारुढ नेकपाभित्रका पूर्वमाओवादी नेताहरु एकताको पक्षमा

सत्तारुढ नेकपाभित्र पेलानमा परेका थुप्रै पूर्वमाओवादी खेमाका नेताहरु पूर्वमाओवादी एकताको पक्षमा छन् । सत्तामा रहेका पनि केहि ओलीसँग गरिएको एकता गलत रहेको बुझाईमा छन् । सिद्वान्त र विचारलाई नै तिलाञ्जली दिएर पार्टी एकता गरिनु गलत रहेको उनीहरुको बुझाई छ ।

हालै मात्र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयले पनि पूर्वमाओवादीहरु बीचको एकता अनिवार्य भन्ने अभिव्यक्ति सार्वजनिक गरेका थिए । एक टेलिभिजन अन्तरवार्ताका क्रममा उनले पूर्वमाओवादी आन्दोलनका सबै नेताहरु अहिलेको अवस्थाबाट चिन्तित भएको र एक हुनुपर्ने सोंचमा पुुगेको बताएका थिए । प्रचण्डको यो अभिब्यक्ति कति स्थिर होला त्यो भबिष्यले बताउला तर गणतन्त्रको हकदार ठान्ने धेरै पुर्व माओवादीहरु एमालेसंगको एकतापछि पाटीभित्र पिल्सीनुपरेको पीडा धेरै ओकलीरहेका छन् ।

प्रचण्डले एकता हुनुपर्ने अभिव्यक्ति दिईरहेको बेला कतिपयले नेकपाभित्र विरोधीलाई दबाउने रणनीति भनेर पनि अथ्र्याएका छन् । तर, प्रचण्ड बाहेकका नेकपाभित्रका अधिकांश पूर्वमाओवादी नेताहरु माओवादी आन्दोलन फेरि एक ठाउँमा हुनुपर्ने निष्कर्षमा छन् । एमसिसिले ल्याउने धु्रविकरण र जबजको लपेटाइ पनि यसमा जोडिएको छ । यसले पूर्वमाओवादीहरु बीचको एकताको पहल भईरहेको बेला सत्तारुढ नेकपामा पहिरो जाने सम्भावना उत्तिकै छ ।