सिन्धुपाल्चोकको बाह्रवीसेमा पहिरोले कम्तिमा ९ घर पुरिए, कयौँ मानिस बेपत्ता

रामेछाप खबर संवाददाता

काठमाडौँ, २८ भदौ ।

सिन्धुपाल्चोकको बाह्रवीसेमा पहिरोले कम्तिमा ९ वटा घर पुरिएका छन् ।

बाह्रवीसे वडा नम्बर ७ घुम्थाङको नागपुजेमा भीरखर्कबाट खसेको पहिरोले कम्तिमा ९ घर पुरिँदा कयौँ बेपत्ता भएको मेयर निमफुन्जो शेर्पाले जानकारी दिए ।

‘म घटनास्थल जाँदैछु, भीरखर्कबाट खसेको पहिरोले नागपुजेका कम्तिमा ९ घर पुरिएको सूचना आएको छ, जुमखर्कमा पहिरो गएको जानकारी आएको छ त्यताको क्षतिबारे जानकारी आइसकेको छैन,’ मेयर शेर्पाले भने,’कम्तिमा २०-२५ जना मानिस बेपत्ता भएको खबर छ।’

स्थानीय शिक्षक बजीर भण्डारीलाई उद्धृत गर्दै सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले भने सामाजिक सञ्जालमा उल्लेख गरेको विवरणअनुसार नागपुजेमा ८ घर र भीरखर्कमा १० घर पुरिएका छन् ।

नागपुजेका ८ घरका सबै मानिस बेपत्ता छन् । भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयबासीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी छ ।