कुलमानबाहेक अरुले केही गर्न सक्दैनन् भन्ने कुरा गलत हो : उद्योगमन्त्री लेखराज भट्ट

रामेछाप खबर संवाददाता

काठमाडौँ, २८ भदौ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई ल्याउने कि नल्याउने भन्ने कुरा सरकारको कुरा भएको स्पष्ट पारेका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको कार्यक्रममा ‘कुलमानको आज आवश्यकत्ता छ कि छैन ? एउटा शक्तिशाली मन्त्रीको हैसियतले तपाईले केही बताउन सक्नुहुन्न ?’ भनेर सोधेको प्रश्नमा मन्त्री भट्टले भने,‘होईन त्यो, कुनै व्यक्ति नभईकन, पृथ्वी घुम्दैन भन्ने कुरो हुँदैन् । हरेक विकल्पहरु हुन्छन् । फेरि कुलमान घिसिङलाई ल्याउनैपर्छ वा ल्याउन हुन्न भनेर बोलिरहन आवश्यक छैन् ।’

सरकारलाई कुलमान घिसिङ आवश्यक छ कि छैन ? भनेर तेर्साएको अर्को प्रश्नमा भट्टले भने,‘होईन, हरेक विज्ञ व्यक्ति यो वा त्यो हिसाबले आवश्यक भैरहन्छन् नि सरकारलाई । आवश्यकत्ता नै छैन भनेर कसैलाई भन्ने यो विषय त हुँदै होईन ।” कुलमानलाई ल्याउने कि नल्याउने भन्नेबारे आफूलाई कुनै पूर्व जानकारी नभएको उनको संकेत छ । उनले कुलमानबाहेक अरुले केही पनि गर्न सक्दैनन् भन्ने कुरा गलत भएको जिकिर गरे । उनले भने,’काम टिमले गर्ने हो । कुलमानजीको पनि टिम थियो । टिमले काम गरेको हो । त्यसलाई हामी सबैले स्विकारेको कुरा हो ।’