उपत्यकामा दशैंसम्म निषेधाज्ञा गर्नुपर्छः ललितपुरका प्रमुख जिल्ला अधिकारी भट्ट

रामेछाप खबर संवाददाता

काठमाडौ , २३ भदौ ।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले काठमाडाैं उपत्यकामा निषेधाज्ञा दशैँसम्म लम्ब्याउनु पर्ने बताएका छन्।

आइतबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको बैठकमा भट्टले निषेधाज्ञा तत्काल हटाउन नहुने तर्क अगाडि सारेकाे हुन् ।

उनले भने, ‘दशैँ आउँदैछ, केही सहजीकण गरेर भए पनि निषेधाज्ञालाई दशैँसम्म राख्नुपर्छ होला । अब चाडबाडमा मानिसको आवतजावत धेरै हुन्छ। यसले काेराेना संक्रमण झनै बढ्न सक्छ , त्यसकारण दशैँसम्म निषेधाज्ञा गर्नैपर्छ’ भट्टकाे भनाइ उदृत गर्दै एक सदस्यले भने ।

भट्टले तिज जस्ता चाडबाडमा निषेधाज्ञा गरेकाले कोरोना संक्रमण कम भएको दाबी गरेका थिए । उनले ललितपुरमा क्वारेन्टिन र आइसोलेसनको अभाव नभएको दाबी गरे ।

विदेशबाट आएकाहरूका लागि पनि राख्नका लागि पर्याप्त बेड भएको उनले समितिलाई जानकारी गराएका छन् । उनले निषेधाज्ञामा अपेक्षाकृत कोरोना नियन्त्रण नभए पनि निषेधाज्ञा नभएको भए अवस्था झनै भयावह हुने धारणा समितिमा राखेका थिए ।