काठमाडौ , २३ भदौ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ताधारीले हिसिला‑बाबुरामलाई किन लखेटेका होलान् भन्दै ट्विटरमा प्रश्न गरेका छन् । ब्लग साइट माइसंसारले न्युयोर्क टाइम्समा छापिएको भनिएको ‘हिसिला यमी दक्षिण एसियाकै भ्रष्ट महिला’ उल्लिखित समाचारको खास अंश प्रकाशन गरेको लिंक सेयर गर्दै भट्टराईले लेखका छन्, ‘रिपोर्ट पढौं र आफ्नै विवेकलाई सोधौं- सत्यतथ्य के हो ? हामी कागले कान लग्यो भन्दैमा कान नछामी कागको पछि कुदिरहेका छैनौं ? पकेटमार चोरचोर भन्दै आफैँ पकेट मारेर भाग्दै त छैन ? भूपी शेरचनले किन यो हल्लैहल्लाको देश भनेर कविता लेखेका होलान् ? किन सत्ताधारीले हिसिला-बाबुरामलाई लखेटेका होलान् ?
तत्कालीन प्रधान सम्पादक प्रतीक प्रधानले समेत न्युयोर्क टाइम्स नपढी २०७० मंसिर ९ गते नागरिक दैनिकमा ‘जनता मनन गर्छन्’ शीर्षकमा ‘अमेरिकी प्रतिष्ठित पत्रिका न्युयोर्क टाइम्सले हिसिला यमीलाई दक्षिण एसियाकै सबैभन्दा भ्रष्ट महिला नेतृ भनेर लेखिदिएर पनि जनता बीचमा ठूलो असर परेको देखिन्छ ।’ भन्ने वाक्यांश उल्लेख गरेका छन् ।
तर न्युयोर्क टाइम्समा प्रकाशित समाचारमा भने ‘यदि तपाईंले अखबारहरु पढ्नुभयो भने सोच्नुहुन्छ कि म नेपालमा सबैभन्दा भ्रष्ट महिला हुँ माओवादी नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी श्रीमती हिसिला यमीले भनिन्’ लेखिएको छ । पत्रपत्रिकाहरूले बिनाआधार यस्ता समाचार लेख्ने गरेको प्रसंग उठाउँदै उनले त्यसो भनेकी थिइन् ।