एकैदिन १४ जना काेराेना संक्रमितकाे मृत्यु पुष्टि, शुक्रबार अहिलेसम्मकै बढी कोरोना संक्रमित

रामेछाप खबर संवाददाता

काठमाडौ , १९ भदौ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २७१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेका छन् ।

डा. गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौंका ८२, ६७ र २२ वर्षीया महिला र चितवनका ३५ वर्षीया एक महिला रहेका छन् ।

त्यसैगरी सप्तरीका ५५-५५ वर्षीय दुई पुरुष, धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरि एक हजार ३५९ संक्रमित थपिएका छन् ।

जसमा ४६४ महिला र ८९५ पुरुष रहेका छन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ रहेको छ ।

डिस्चार्ज

पछिल्लो २४ घण्टामा एक हजार ३५४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो त्यसैगरी हालसम्म २५ हजार ५६१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५८ प्रतिशत रहेको छ ।

भेन्टिलेटर, आइसोलेसन र क्‍वारेन्टिन

देशभरका संस्थागत आइसोलेसन १० हजार ९४२ जना र होम आइसोलेसनमा ७ हजार ४६२ रहेका छन् । आजसम्म देशभर ६ हजार ५६१ जना क्‍वारेन्टिनमा रहेका छन् ।

बागमती प्रदेशमा १९ जना, प्रदेश १ मा ३ जना र प्रदेश ५ मा ४ जना गरी २६ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १५१ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । जसमा बागमती प्रदेशमा सबैभन्दा ९० जना रहेका छन् ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् ।

संक्रमण शून्य जिल्लाहरू

ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।