काठमाडौ , १८ भदौ ।
अर्थमन्त्री डा.युवाराज खतिवडाले आफ्नो पदबाद राजीनामा दिन खोजेकोमा प्रधानमन्त्रीले फिर्ता गरिदिएका छन् । डा.खतिवडाको कार्यकाल भोलि शुक्रबार राति १२ बजेबाट सकिँदैछ । उनलाई पुनः अर्थमन्त्रीमा निरन्तरता दिनका लागि राष्ट्रिय सभामा सदस्यका रुपमा मनोनित गर्नुपर्ने हुन्छ ।
तर यसपटक उनलाई राष्ट्रिय सभामा सदस्यका रुपमा लैजान नसकिने जानकारी दिएर खतिवडालाई प्रधानमन्त्री केपी ओलीले स्पष्ट गरेपछि आज उनले राजीनामा बोकेर बालुवाटार पुगेको समाचार स्रोतले जानकारी दियो ।
उनले कार्यकाल सकिएर आफै निस्किएको नभएर राजीनामा दिएर निस्किएको भन्ने बनाउनका लागि आज राजीनामा दिने योजना बनाएका थिए ।
तर प्रधानमन्त्रीले आज राजीनामा नदिन सुझाएपछि उनी यसै फर्किएका थिए । तर पनि उनको प्रयास जारी नै रहेको र भोलि बिहानसम्ममा प्रधानमन्त्रीलाई राजीनामा पत्र थमाउने ध्याउन्नमा लागेको बुझिएको छ ।
समाचार स्रोतले भन्यो प्रधानमन्त्रीले आज नदिनु भोलिलाई विचार गरौँला भन्नुभएको छ, हेरौँ भोलि के हुन्छ ? अर्काे समाचार स्रोतले भन्यो भोलि नै कार्यकाल सकिने भएपछि किन राजीनामा दिनुपर्यो भनेर पनि प्रधानमन्त्रीले भन्न सक्नुहुन्छ ।
प्राप्त अर्को एक समाचारमा भोलि बिहान मन्त्रिपरिषदको बैठक बस्दैछ । सो मन्त्रिपरिषद बैठकले बामदेवलाई राष्टिय सभामा मनोनित गर्नका लागि राष्ट्रपतिसमक्ष पठाउने विषयमा निर्णय गर्र्ने जनाएको छ ।
त्यस सम्बन्धी सहमति आजको सचिवालय बैठकमा हुनेछ । नेकपा सचिवालय बैठक अहिले बालुवाटारमा जारी छ । यसअघि आज बिहान सम्म पनि प्रधानमन्त्री ओलीले युवराज खतिवडालाई नै राष्टिय सभामा पठाउने र अर्थमन्त्रीमा नै निरन्तरता दिने अडानमा थिए । तर आज बिहान प्रचण्डसँगको भेटपछि प्रधानमन्त्री यो निर्णयबाट फिर्ता भएका थिए । उहाँहरुबीचको सहमतिपछि आज नै सचिवाय बैठक बसेको हो । सोही बमोजिम नै भोलि मन्त्रिपरिषद बैठक बस्ने भएको हो ।