७० करोड काण्ड छानबिन सुरु, कारवाही गर्ला कि चोख्याउला ?

रामेछाप खबर संवाददाता

काठमाडौ , १७ भदौ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बास्कोटाको ७० करोडको कमिसन प्रकरणको छानविन सुरु गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा बास्कोटाले कमिसन मोलमोलाई अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक गर्ने दलाल विजय मिश्रलाई अख्तियारले बोलाएको छ ।

अख्तियारले बुधाबर सार्वजनिक सूचना प्रकाशित गरेर मिश्रलाई सात दिनभित्र उपस्थित हुन भनेको छ । सूचनामा कमिसन मोलमोलाइको विषयमा केही बुझ्नुपर्ने भएकाले मिश्रलाई उपस्थित हुन भनिएको छ । सूचना प्रकाशित भएको ७ दिनभित्र उपस्थित नभए कानुनअनुसार कारवाही गर्ने समेत अख्तियारमा सूचनामा भनेको छ ।

“यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस आयोगको प्रहरी महाशाखामा अनुसन्धान अधिकृत समक्ष सम्पर्क राख्न आउनु होला, नआए कानुन बमोजिम भइ जानेछ” सार्वजनिक सूचनामा भनिएको छ । मिश्रले बास्कोटाले आफूसँग ७० करोड कमिसन मागेको भन्दै उक्त अडियो संचार माध्यममार्फत सार्वजनिक गरेका थिए ।

सो प्रकरणपछि बास्कोटाले मन्त्रीबाट राजिनामा दिएका थिए । उक्त प्रकरणको छानविन गर्न अख्तियार जनस्तरबाटै दवाव सिर्जना हुँदै आएको थियो । यो सूचना सार्वजनिक भएसँगै ७० करोड प्रकरणको छानविन सुरु भएको हो । गोल मिडिया खबर बाट