दुखद खबर : कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या २ सय ३८ पुग्यो

रामेछाप खबर संवाददाता

काठमाडौ , १६ भदौ ।

कोरोना भाइरसको संक्रमणबाट विभिन्न जिल्लामा हिजो र आजगरी थप १० जनाको मृत्यु भएको छ । देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ३८ पुगेको छ ।

सुनसरीको धरानमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । धरान ११ का ६५ वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट काठमाडौंको केन्द्रीय कारागारमा एक कैदीको मृत्यु भएको छ । कञ्चनपुर घर भएका ४० वर्षीय पुरुषको कोरोना संक्रमण भएपछि उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

काठमाडौंका अर्का एक पुरुषको पनि कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । पूर्वन्यायाधीश माधव प्रसाद चालिसेको बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो । उनी काठमाडौं महागरपालिका ३ का स्थायी बासिन्दा हुन् ।

पर्साको वीरगञ्जमा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ । बाराको काल्हवी नगरपालिकाका ६० वर्षीय पुरुष र पहिचान नखुलेका झण्डै ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक संक्रमितको मृत्यु भएको छ । मकवानपुरका ५८ वर्षीय पुरुषको उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

त्यस्तै सिरहाका एक पुरुषको पनि मृत्यु भएको छ । ६५ वर्षीय पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिएका छन ।

चितवनमा थप तीनजनाको हिजो अबेर मृत्यु भएको छ । भरतपुर महानगरपालिका ११ की १८ वर्षीय युवती र ६५ वर्षीय पुरुष तथा खैरहनी नगरपालिकाकी ५५ वर्षीया महिलाको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिएका छन ।