दुर्गेश थापा अब अनमोल र सुहानासँगै ‘ए मेरो हजुर ४’ मा

रामेछाप खबर संवाददाता

काठमाडौं, १२ असोज ।

गायक दुर्गेश थापाले ‍’ए मेरो हजुर ४’ मा अभिनय गर्ने भएका छन्। दुर्गेशले आइतबार फिल्ममा गायन तथा अभिनय गर्ने सम्झौता भएको जानकारी फेसबुक मार्फत सार्वजनिक गरेका हुन्।

अभिनेत्री झरना थापाको निर्देशन रहेको ए मेरो हजुर ४’ मा दुर्गेश अनमोल केसी र सुहाना थापासँगै देखिनेछन्।

फेसबुकमा फिल्मका निर्देशक झरना थापा, निर्माता सुनिल थापा र कोरियोग्राफर रामजी लामिछानेसँग खिचेका केही तस्बिर सार्वजनिक गर्दै दुर्गेशले लेखेका छन्, ‘ए मेरो हजुर ४’ मा म पनि जोडिएको खबर सुनाउन पाउँदा निक्कै खुशी छु। यो प्रोजेक्टमा जोडिने अवसर दिनुभएकोमा सुनिल थापा दाइ, झरना थापा दिदी र रामजी लामिछाने दाइप्रति आभारी छु।’

दुर्गेशले अभिनय गर्ने भूमिका नखुलाइए पनि फिल्ममा उनले एउटा गीत गाउने जानकारी गराइएको छ। यसअघि उनले ‘छ माया छपक्कै’को एउटा प्रोमोसनल गीत गाएका थिए।

कोरोनाको महामारीको जोखिम बढेपछि लागेको लकडाउनका कारण ए मेरो हजुर ४’ को छायांकनको आधा काम गत वर्षको चैत महिनामा रोकिएको थियो। बाँकी छायांकनको काम स्थिति सामान्य भए चाँडै सुरु हुनसक्ने निर्माण पक्षले जनाएको छ।

आफ्ना गीतहरुमा मोडलिंग समेत गर्दै आएका दुर्गेश थापाका गीतहरु पटक पटक टे्र्न्डिंगमा पर्दै आएका छन्। चर्चित गीत ‘बीच्च बीच्चमा’का गायक दुर्गेशले पछिल्लो पटक ‘आलु जस्तो गायक’ बोलको गीत सार्वजनिक गरेका थिए।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।