सुनको भाउ फेरी बढ्यो : तोलाको कती ?

रामेछाप खबर संवाददाता

काठमाडौँ, २ असोज।

सुनको भाउ आज तोलामा चार सय रुपैयाँ बढेको छ ।

हिजो ९ सय रुपैयाँ घटेको सुनको भाउ आज भने बढेर तोलाको ९७ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

लकडाउनपछि मोटरसाइकलको बिक्री दोब्बर

धनगढी-कोरोना भाइरसका कारण सार्वजनिक सवारी साधन नचलेपछि मोटरसाइकलको माग बढेको छ । कोरोना रोकथाम गर्नका लागि गरिएको लकडाउन खुलेपछि मोटरसाइकल र स्कुटर बिक्री दर दोब्बर भएको हो । कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा धनगढीमा हिरो मोटरसाइकल बिक्रेता विशेष अटोमोबाइल्स प्रालिका प्रबन्ध निर्देशक पुस्कर ओझाले गत वर्ष मासिक ४०÷४५ वटा मोटरसाइकल बिक्री हुँदै आएकोमा लकडाउनपछि एक सयदेखि एक सय १० वटासम्म मोटरसाइकल बिक्री हुन थालेको बताए ।

धनगढीमा टिभिएस मोटरसाइकलको बिक्रेता बागेश्वरी अटोमोटिभ्स्का प्रबन्ध निर्देशक प्रेम साउदले पनि लकडाउनपछि मोटरसाइकल बिक्री दर दोब्बरले बढेको बताए । उनले अहिले महिनामा एक सय मोटरसाइकल बिक्री भइरहेको बताए । मोटरसाइलकल सस्तो दाममा पाइने र सार्वजनिक सवारी साधन नचलेको हुनाले मोटरसाइकलको माग बढेको उनले बताए ।

यातायात व्यवस्था कार्यालय धनगढीमा गत आर्थिक वर्षमा आठ हजार सात सय निजी, ६ वटा संस्थागत र दुई सय १८ वटा सरकारी मोटरसाइकल दर्ता भएकोमा यसआर्थिक वर्षका दुई महिनामा एक हजार पाँच सय ५५ निजी र ७४ वटा सरकारी मोटरसाइकल दर्ता भइरहेको छ । यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाहले गतवर्ष भन्दा यस वर्ष मोटरसाइकल दर्ता बढी भइरहेको बताए ।

सार्वजनिक सवारी साधन नचल्नुका साथै सार्वजनिक यातायात असुरक्षित हुने त्रासका कारण मोटरसाइकल लिन थालेको देखिन्छ । संघका उपाध्यक्ष ओझाले मानिसहरुको अत्यन्त जरुरी काम पर्ने र सार्वजनिक सवारी साधन नचलेकाले काम गर्न कठिनाई हुने गरेकाले मोटरसाइकलको माग बढेको बताए । उनले चार पांग्रे गाडी महंगो पर्ने भएकाले पनि ग्राहकहरुले दुई पांग्रे गाडी रुचाइरहेको बताए । उनले एकै परिवारले दुई÷तीन मोटरसाइल किन्न थालेको बताए ।
यातायात व्यवस्था कार्यालयका अनुसार गत आर्थिक वर्षमा दुई सय ४९ वटा ‘क’ वर्ग, दुई सय ३४ वटा ‘ख’ वर्ग र ६ वटा सरकारी चारपांग्रे दर्ता भएको थियो भने यस आर्थिक वर्षको दुई महिनामा १९ वटा ‘क’ वर्ग र १८ वटा ‘ख’ वर्गका सवारी साधन दर्ताको छ ।

अहिले मोटरसाइकल बिक्री दर बढेको भएपछि लकडाउन अवधिको साढे तीन महिना कारोबार शुन्य थियो । संघका उपाध्यक्ष ओझाले लकडाउन अवधिमा कारोबार नभएको बताए ।