नेपाल एलपी ग्यास उद्योग संघले तोक्यो खाली सिलिन्डरको भाउ, बढी लिए कारबाही गर्ने संघको चेतावनी

रामेछाप खबर संवाददाता

काठमाडौँ, १ असोज ।

नेपाल एलपी ग्यास उद्योग संघले सबै कम्पनीको खाली सिलिन्डरको भाउ २१ सय रुपैयाँ तोकेको छ । भोलि असोज २ गतेदेखि लागु हुने गरी वाग्मती प्रदेशभित्र २१ सय रुपैयाँभन्दा बढी लिन नपाइने अध्यक्ष गोकुल भण्डारीले बताए । तत्कालका लागि वाग्मती प्रदेशका लागि मात्रै यो मूल्य तोकिएपछि विस्तारै अन्य प्रदेशमा पनि तोक्ने उनले बताए ।

“उद्योगीले सस्तोमा सिलिन्डर बेचे पनि उपभोक्तालाई महँगोमा किन्‍नुपर्ने बाध्यता रहेकाले सबै कम्पनीको खाली सिलिन्डरको मूल्य एकै बनाएको हो,” उनले भने । सिलिन्डर २१ सय भन्दा बढीमा बेचिए तत्काल उजुरी दिन पनि उनले आग्रह गरे ।

संघले सिलिन्डरको मूल्य तोकेसँगै उपभोक्तालाई अनिवार्य बिल दिनुपर्ने व्यवस्था पनि गराएको छ । वाग्मती प्रदेशमा दुई दर्जन बढी ग्यास उद्योगका सिलिन्डर बिक्री हुन्छन् ।

एउटा कम्पनीको सिलिन्डर साट्नु गैरकानुनी
संघले आफ्नो कम्पनीबाहेक अरु कम्पनीको खाली सिलिन्डर साट्नु गैरकानूनी भएको जनाएको छ । “कुनै पनि कम्पनीले अर्को कम्पनीको ग्यास सिलिन्डर साट्नु गैरकानुनी हो । साट्नेमाथि कारबाही हुन्छ,” अध्यक्ष भण्डारीले भने ।

१० वर्ष अघिसम्म ग्यास उद्योगले धरौटी रसिद दिने गरेका थिए। उद्योगबाट दिने त्यस्ता रसिद डिलरले उपभोक्तालाई दिने गरिन्थ्यो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।