५० प्रतिशत बढी भाडा लिन पाउने गरी ६ महीनापछि गुड्दै लामो दूरीका सार्वजनिक यातायात

रामेछाप खबर संवाददाता

काठमाडौं, १ असाेज ।

सरकारले करीब ६ महीनापछि आजबाट लामो दूरीका सार्वजनिक यातायात चलाउन अनुमति दिएको छ। गएको ११ चैतमा बन्दाबन्दी लागू भएदेखि लामो दूरीका यातायात बन्द थिए।

व्यवसायीले सार्वजनिक यातायातमा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने छन्। तर, उनीहरुले सिट क्षमताको आधा यात्रु मात्र राख्नु पर्नेछ।

चालक, सहचालकलगायत गाडीका कर्मचारीले मास्क, पञ्जा, सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्नेछ। चालकबाहेकका कर्मचारीलाई फेस भाइजर पनि अनिवार्य गरिएको छ। त्यस्तै यात्रुहरुले मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्नेछ।

स्वास्थ्य सावधानीका उपाय पालनाको अनुगमनका लागि विभिन्न ठाउँमा चेकजाँचको व्यवस्था मिलाइएको छ। लामो दूरीका यातायातले बीचमा यात्रु राख्न पनि रोक लगाइएको छ।

गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १ असोजदेखि लामो दूरीका गाडी सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको थियो। जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्ने पनि मन्त्रीपरिषदले निर्णय गरेको छ।

यता यातायात व्यवसायी महासंघ र चालक महासंघको संयुक्त कार्यदलले बुधबार विज्ञप्ति जारी गरी आजदेखि लामो दूरीका गाडी चलाउन अनुरोध गरिसकेको छ।
थप सामग्री : https://www.himalkhabar.com/news/118472

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।