‘अब त काम नै बिर्सिने बेला भइसक्यो’

रामेछाप खबर संवाददाता

काठमाडौँ, ३१ भदौ ।

“छायांकन हुँदै गरेका चलचित्र बीचमै छोड्नु पर्यो । साइन लिइसकेका चलचित्र अब बन्छन् कि बन्दैनन् टुङ्गो छैन,” कलाकार बुद्दि तामाङ भन्छन्, “अहिले त सुत्ने र उठ्ने बाहेक केही काम छैन । सुत्यो उठ्यो सुत्यो उठ्यो बाहेक केही काम भएन ।”

लकडाउन खुकुलो भएपछि नियमित रुपमा मण्डला थिएटर आइरहे पनि काम केही नभएको उनी बताउँछन् । उनी अहिले केही स्क्रिप्ट पढिरहेका छन् । म्युजिक भिडियोमा अभिनय गर्ने कुरा चलिरहेको छ । “तर कुरा मात्रै भइरहेको छ । काम भएको छैन ।”

कोरोनाकै कारण उनले अभिनय गरिरहेको चलचित्र ‘२ नम्बरी’ बीचमै छायांकन रोकियो । “अरु पाँचवटा चलचित्रमा अभिनय गर्दै थिएँ । अब त काम कुन–कुन चलचित्र थिए भनेर पनि बिर्सिने बेला भइसक्यो,” बुद्दि भन्छन् ।

अभिनेता विजय बरालको अवस्था पनि बुद्दिकै जस्तै हो । अचानकको लकडाउनले काम खोस्यो । लकडाउनसँगै फुर्सदिलो बनेका उनी कहिले काममा फर्किने हुन् थाहा छैन । “अहिले त काम गरेको सम्झिने हो गर्ने भन्दा पनि” विजय हाँस्दै भन्छन्, “अब त काम नै बिर्सिएला जस्तो पो भइसक्यो ।”

कोरोनाको कहरका कारण तनावमा बसिरहेका जनतालाई चेतनासँगै मनोरञ्न प्रदान गर्ने उद्देश्यले मण्डला थिएटर देशमा मुख्य मुख्य सहरमा नाटक लिएर जाने तयारीमा थियो । तर त्यो तयारी पनि कोरोनाको बढ्दो त्रासका कारण अपनाउनु पर्ने व्यक्तिगत दूरीका कारण सम्भव नरहेको उनी बताउँछन् ।

गत वर्षको चैत ६ गतेबाट रङ्गमञ्च तथा सिनेमा हलहरु बन्द छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।