कुलमानलाई हटाए जिन्दगीभर जनताको मन दुख्छः कलाकार मदनकृष्ण श्रेष्ठ

रामेछाप खबर संवाददाता

काठमाडौँ, ३० भदौ ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपाल विद्युत प्राधिकरण कार्यकारी प्रमुखको जिम्मेवारीबाट कुलमान घिसिङलाई हटाए जिन्दगीभर जनताले चित्त दुखाउने बताएका छन् । सोमबार राति सामाजिक संजालमा एक पोस्ट गर्दै कलाकार श्रेष्ठले ७७ जिल्लाको मन जितेको व्यक्तिलाई हटाउने निर्णय गरे जनताको मन दुख्ने बताएका हुन् ।

गत आइतबारबाट कुलमान घिसिङको प्राधिकरणको चार वर्षे कार्यकाल सकिएको छ । उनको नेतृत्वको प्राधिकरणले नेपाललाई लोडसेडिङमुक्त बनाएको साथै प्राधिकरणलाई मुनाफा पनि दिएको भन्दै अधिकांश नेपालीहरुले उनको जिम्मेवारीको अवधि बढाउनुपर्ने माग गरेका छन् । तर, सरकारले भने त्यसमा कुनै चासो देखाएको छैन । यसैबारेमा कलाकार श्रेष्ठले उनलाई नै प्रमुखको जिम्मेवारीमा निरन्तरता दिनुपर्ने माग गरेका हुन् । श्रेष्ठले कुलमान ७७ मध्ये कुनै पनि जिल्लाबाट उठेको खण्डमा चुनाव जित्ने भन्दै जनताको मन जितेका व्यक्तिलाई नै निरन्तरता दिनुपर्ने श्रेष्ठको भनाई छ ।

‘एउटा जिल्लाको मत प्राप्त गरेपछि कुनै पनि सांसद मन्त्री बनेर सिंगै मन्त्रालयलाई नेतृत्व दिन योग्य हुन्छ । तर, मेची देखि महाकाली हिमालदेखि तराई सतहत्तरै जिल्लाका साँढे ३ करोड जनताका आत्मादेखि रुचाइएको एउटा नाम हो श्री कूलमान घिसिङ जो नेपालको ७७ जिल्ला मध्ये कुनै पनि जिल्ला, कुनै पनि पार्टीबाट चुनाव लडेमा आँखा चिम्लेर निर्वाचित हुने निश्चित देखिन्छ।

आम जनताको मतलाई अयोग्य ठानेर बेवास्ता गर्न सकिन्छ। तर, ७७ वटा जिल्लाको मन जितेको ब्यक्तिलाई हटाउने निर्णय गरिएमा जनताले जिन्दगी भर चित्त दुखाउने छन् । लौ है आदरर्णिय नेताज्यूहरु जनताका तर्फबाट यहाँहरुलाई एक पटक सम्झाई दिने मेरो धर्म हो । जनादेशलाई सम्मान गरेर जनताको मन जित्ने नजित्ने यहाँहरुको स्वविवेक र कर्म हो ।

अर्को एउटा कुरा…

कुलमानजी जस्तो सहि व्यक्तिलाई प्राधिकरणको प्रमुख पदमा नियुक्ती गर्रेर देशलाई लोडसेडिङ मुक्त गराई दिनुहुने आदरनिय मन्त्रीज्यू र कुलमानजीलाई साथ दिनु हुने कर्मचारी लगायत सम्पूर्ण महानुभावहरुलाई पनि जनताले धन्यबाद दिएका छन् है। एकजनालाई मात्र जस दियो हामीलाई दिएन भनी नसम्झिनु होला त्यो पनि भन्देको छु मैले …’ श्रेष्ठले फेसबुकमा लेखेका छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।