गए रातिदेखि आज विहानसम्ममा थप पाँच कोरोना संक्रमितको मृत्यु

रामेछाप खबर संवाददाता

सुनसरी, २९ भदौं ।

गए रातिदेखि आज (सोमबार) विहानसम्ममा कोरोना भाइरस संक्रमणबाट पाँच जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेमा मोरङका दुई, महोत्तरी र बुटवलका एक–एक र चितवनका एक जना छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

मोरङको धनपालथान–६ का ती युवकको आइतबार राति ८ः४५ मा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनलाई प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा उपचारको क्रममा रहँदा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । शुक्रबार प्रतिष्ठानको ल्याबबाट सङ्क्रमण पुष्टि भएपछि उनलाई शनिबार राति साढे १० बजे कोभिड अस्पतालमा सारिएको थियो । यसअघि आइतबार दिउँसो विराटनगर–१२ का ७० वर्षीय पुरुषको पनि प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको थियो । उनलाई विराटनगरस्थित म्याक्स अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो । उनलाई भदौ १६ गते कोराना पुष्टि भएको थियो । उनलाई पहिलादेखि नै उच्च रक्तचापको समस्या भएको बताइएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुने सङ्क्रमितको संख्या २६ पुगेको छ ।

यता महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ । कोरोना लागेर ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको उनको आइतबार मृत्यु भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विजय झाले बताए । भदौ २२ गते अस्पताल भर्ना भएकै दिन उनको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइएकोमा भदौ २४ गते उनी कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो । उनी उच्च रक्तचापका बिरामी समेत रहेको बुझिएको छ । उनको मृत्युसँगै अब महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको जिल्लाका कोरोना फोकल पर्सन गिरेन्द्रकुमार झाले बताए ।

यस्तै कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुकी कोरोना सङ्क्रमित एक महिलाको आज मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा बिहान ४ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । यहीभदौ २१ गते गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा मिर्गौलाको डाइलासिस गराउन आएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा लगिएको थियो । उनको आइसियुमा राखेर उपचार भइरहेको थियो । कोरोना विशेष अस्थायी अस्पतालमा आजसम्म १७ जना आइसियुमा र एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

त्यस्तै चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैंडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति ११ः३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

हालसम्म जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या २७ पुगेको छ । दुई वृद्धाको घरमै मृत्यु भएको थियो । चितवनका १७, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका चार, बारा, गोरखा र कैलालीका एक–एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।