टिपरले लियो प्रहरी जवानको ज्यान, चालक फरार

रामेछाप खबर संवाददाता

रुपन्देही, २८ भदौ ।

टिपरको ठक्करबाट बुटवलमा एक प्रहरी जवानको ज्यान गएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल धागो कारखानानजिकै टिपरले प्रहरी सवार स्कुटरलाई ठक्कर दिएको थियो । ठक्कर दिने टिपरका चालक भने दुर्घटना भएलगत्तै फरार भएका छन् ।

कपिलवस्तु-४ तौलिहवा घर भई जिल्ला प्रहरी कार्यालय बाग्लुङमा कार्यरत् प्रहरी जवान अमित श्रेष्ठको दुर्घटनामा ज्यान गएको हो । सोही घटनामा अर्का एक जना प्रहरी जवान घाइते छन् ।

बाग्लुङबाट बिदा लिएर घर आएका श्रेष्ठ र सोही कार्यालयमा कार्यरत् प्रहरी जवान सन्तोषी थारु सवार स्कुटरलाई लु १ ख ८९९ नम्बरको टिपरले अगाडिबाट ठक्कर दिएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार टिपरले उनीहरू सवार स्कुटरसहित दुवै जनालाई करिब ५० मिटर परसम्म लतारेको थियो ।

टिपरको ठक्करबाट दाहिने खुट्टा चुँडिएका श्रेष्ठको संबेदनशील अंगमा समेत गम्भीर चोट लागेको र उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा घाइते प्रहरी जवान सन्तोषी थारुको दाहिने हात भाँचिएको र सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनामा संलग्‍न टिपर प्रहरीको नियन्त्रणमा रहेको छ भने फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।