चेतावनीलाई चुनौती दिँदै मुम्बईका लागि निस्किइन् कंगना

रामेछाप खबर संवाददाता

काठमाडौँ , २४ भदौ ।
बलिउड अभिनेत्री कंगना रनौट आफ्नो बोलीअनुरुप आज (सेप्टेम्बर ९) सुरक्षासहित मुम्बईका लागि निस्किएकी छिन् । उनी आफ्नो घर मनालीबाट मुम्बईका लागि निस्किसकेको र दिउँसोसम्म मुम्बई पुग्‍ने नवभारत टाइम्सले जनाएको छ ।

कंगना स्वयंले पनि मुम्बईका लागि निस्कन लागेको जानकारी ट्विटरमार्फत दिएकी छिन् । निडर कंगनाले ट्विटरमा लेखेकी छिन्, “न डराउँछु, न झुक्छु । गलतको विरुद्ध आवाज उठाइरहन्छु ।”

खबरका अनुसार कंगना दिउँसो १२ बजे चन्डीगढबाट आन्तरिक विमानमा दिउँसो करिब २ बजे मुम्बई पुग्नेछिन् । कंगनाले घरबाट निस्किने बेला पनि ट्विटरमा लेखेकी छिन्, “रानी लक्ष्मीबाईको साहस, शौर्य र बलिदानको मैले चलचित्रको माध्यमबाट भएपनि जिउन पाएको छु । दुःखको कुरा यो हो कि मलाई महाराष्ट्र आउनबाट रोकिँदै छ । म रानी लक्ष्मीबाईको बाटोमा हिँड्नेछु, न डराउँछु, न झुक्छु । गलतविरुद्ध आवाज जारी राख्ने छु । जय महाराष्ट्र, जय शिवाज ।”

एएनपीले पनि कंगना हिमाञ्चलबाट चण्डीगढका लागि गाडीमा निस्किएको फोटो ट्विटरमा सेयर गरेको छ । कंगनालाई शिवसेनाले मुम्बई नआउन धम्की दिएका थिए । धम्की र चेतावनीबीच कंगनाले सेप्टेम्बर ९ मा मुम्बई आउने चुनौती दिएकी थिइन् । सोहीअनुरुप उनलाई हिमाञ्चल प्रदेशको प्रहरी फोर्सले सुरक्षा दिइरहेको छ ।