अष्ट्रेलियाविरुद्धको सिरिज इङ्ल्यान्डलाई

रामेछाप खबर संवाददाता

काठमाडौं, २२ भदौ ।
इङ्ल्यान्डले अष्ट्रेलियाविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज आफ्नो पोल्टोमा पारेको छ । तीन खेलको सिरिज इङ्ल्यान्डले एक खेल अगाबै जित्न सफल भएको हो ।

आइतबार राति भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै इङ्ल्यान्डले सिरिज २–० ले जितेको हो । अष्ट्रेलियाले दिएको १५८ रनको लक्ष्य इङ्ल्यान्डले १८ ओभर ५ बलमा मात्र ४ विकेट गुमाउँदै पूरा गर्न सफल भएको थियो ।
इङ्ल्यान्डको जितका लागि जोस बट्लरले अर्धसतकीय पारी खेले । उनले अविजित रहँदै ७७ रनको योगदान गरे । यस्तै डाविड मालनले ४२ रनको योगदान गर्दा मोइन अली अविजित रहँदै १३ रन बनाउन सफल भए ।

बलिङतर्फ एस्टन अगरले दुई तथा मिचेल स्टार्क र एडम जाम्पाले एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो ।

उसका लागि कप्तान आरोन फिन्चले ४० तथा मार्कुस स्टोनिसले ३५ रन बनाएका थिए । बलिङतर्फ क्रिस जोर्डनले दुई विकेट लिए । जोफ्रा आर्चर, मार्क उड र आदिल राशिदले एक–एक विकेट हात पारे ।

अब दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।