प्रधानमन्त्री ठूलो योजनामा, आगामी साता हुँदैछ राजनीतिमा यस्तो उथलपुथल

रामेछाप खबर संवाददाता

काठमाडौ ।

जनस्तरवाट निकै आलोचित बन्दै आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अब मन्त्रीमण्डलनै परिवर्तन गर्ने योजनामा पुगेको खुलेको छ । उनी पार्टीभित्र पनि आलोचित भएपछि यस्तो निष्कर्षमा पुगेका हुन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहा लगायतका नेताहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्रीवाट राजिनामा मागेपछि नेकपा भित्रको विवाद चुलिएको थियो । ओलीले एकलौटी निर्णय गर्न थालेको भन्दै पार्टीभित्रै उनको राजिनामा मागिएको हो ।

अहिले मन्त्रीमण्डल पुनर्गठन गरेर विवाद मिलाउने योजनामा प्रधानमन्त्री ओली लागेका छन् । जनस्तरमै आलोचित भएका र राम्रो प्रतिफल दिन नसकेका मन्त्रीहरुलाई हटाउने पक्षमा प्रधानमन्त्री ओली पुगेका छन् । पार्टीको गुटलाई मिलाउन पनि उनी मन्त्री फेर्ने योजनामा पुगेका हुन् । पार्टी विवाद समाधानका लागि गठित कार्यदलको सुझावलाई अन्तिम रुप दिई निर्णय प्रक्रियामा लगिने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको हातमा रहेको सुझावलाई अन्तिम रुप दिई निष्कर्षमा पुर्याइनेछ ।

कार्यदलले मन्त्रीमण्डल पुर्नगठन र महाधिवेशन गर्ने विषय समेत उल्लेख गरी सुझाव दिए पछि प्रधानमन्त्री ओली त्यसको कायान्वयनको योजनामा लागेको बुझिएको छ । अब एक सातामै त्यसको रिजल्ट देखिने विश्वस्त श्रोतले बताएको छ । सचिवालयका कुन नेताले कति कोटा पाउने र को को मन्त्री हुने भन्ने विषय समेत भित्र भित्र उठिरहेको छ ।

यसपटक प्रधानमन्त्री ओली पुरै सेट परिवर्तनको तयारीमा रहेको बुझिएको छ । कार्यक्षमता हेरेर राख्नैपर्ने भएमात्र केही मन्त्री रहने भएको बुझिएको छ । बाँकी सबै बिदा हुनेछन् । मन्त्रीमण्डलमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालका अलावा उपाध्यक्ष बामदेव गौतमलाई पनि मान्य हुनेगरी फेरवदलमा लागेको बुझिएको छ ।