लिभरपुललाई टाइब्रेकरमा हराउँदै आर्सनलले कम्युनिटी सिल्डको उपाधि जित्यो

रामेछाप खबर संवाददाता

एजेन्सी, १४ भदाै ।
लिभरपुललाई टाइब्रेकरमा हराउँदै आर्सनलले कम्युनिटी सिल्डको उपाधि जितेकाे छ । गएराति भएकाे खेलमा निर्धारित ९० मिनेटमा खेल १-१ को बराबरी भएपछि टाइब्रेकरमा ५-४ गाेल अन्तरले पराजित गर्दै आर्सनलले उपाधिसहित नयाँ सिजनको सुरुवात गरेको हो ।

वेम्बली रंगशालामा आर्सनलले खेलको पहिलो हाफमा कप्तान पिएर एमेरिक औबामेयाङको गोलमा अग्रता लिएको थियो । औबामेयाङले खेलको १२ औं मिनेटमा बुकायो साकाको पासमा गोल गरेका थिए ।

दोस्रो हाफमा लिभरपुलले खेल बराबरी गरेको थियो । वैकल्पिक खेलाडी ताकुमी मिनामिनोले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए ।
निर्धारित ९० मिनेटमा खेल १-१ को बराबरी भएपछि टाइब्रेकरमा खेलको नतिजा लिइएको थियो । पेनाल्टीमा आर्सनलका रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पेरिक एम्रिक आबुमियाङले गोल गरे।

लिभरपुलका लागि मोहम्मद सलाह, फाबिन्हो, ताकुमी मिनामिनो र कुर्टिस जोन्सले गोल गरेका थिए । रिहन ब्रेउस्टरको प्रहार भने बारमा लाग्दै फर्किएकाे थियाे ।

आर्सनलले १६ औं पटक कम्युनिटी सिल्ड उपाधि जितेको हो । केहि साताअघि मात्र गत सिजनको एफए कप उपाधि जितेको आर्सनलले मिकेल आर्टेटाको आगमनसँगै लगातार सफलता हासिल गरेको हो । प्रिमियर लिग च्याम्पियन लिभरपुल भने लगातार दोस्रो सिजन कम्युनिटी सिल्डकाे उपाधि जित्नबाट चुक्याे ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।